सुनसरी, १३ साउन । सुनसरीको देवानगञ्जमा भएको हालैको घटनाको सत्यतथ्य पत्ता लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गठित ५ सदस्यीय उच्चस्तरीय छानबिन टोलीले बुधबारदेखि स्थलगत अनुसन्धान सुरु गरेको छ ।
सरकारले घटनालाई गम्भीरतापूर्वक लिँदै वास्तविकता छानबिनका लागि खटाएको उक्त विशेष टोलीले बुधबार देवानगञ्ज पुगेर आफ्नो काम अघि बढाएको हो ।
टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, सरोकारवाला पक्ष र प्रत्यक्षदर्शीहरूसँग छुट्टाछुट्टै छलफल गरेको छ । घटना कसरी र कुन पृष्ठभूमिमा भयो, सो समयमा सुरक्षा तथा प्रशासनिक अवस्था कस्तो थियो र घटनामा कसको के भूमिका रह्यो भन्नेबारे टोलीले आवश्यक प्रमाण, कागजात तथा तथ्यहरू संकलन गरिरहेको छ ।
छानबिन टोलीका अनुसार घटनाका सबै आयामहरूको निष्पक्ष र वस्तुपरक अध्ययन गरी छिट्टै विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गरिनेछ । सोही प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही र आगामी रणनीति तय गरिने गृह मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।
स्थानीय बासिन्दाले भने छानबिन टोलीको आगमनसँगै घटनाको सही सत्यतथ्य बाहिर आउने र पीडितले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । टोलीले अनुसन्धान नसकिएसम्म केही दिन सुनसरीमै रहेर सरोकारवालाहरूसँगको संवादलाई निरन्तरता दिने बुझिएको छ ।