मिर्मिरे अनलाइन
साउन १२, काठमाडौँ। ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
सोमबार साँझ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय स्कार्पियो चालक शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परेको गाडी एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारीहरू सवार थिए। चालकसहित ६ जना सवार उक्त गाडीमा रहेका बाँकी पाँचै जना घाइते भएका छन्।
घाइते हुनेहरूमा:
सस्मिता खतिवडा (३९), कोटेश्वर, काठमाडौँ
भरत पौडेल (३५), गैँडाकोट, नवलपरासी (हाल काठमाडौँ)
डिना सोनाहा (३६), बर्दिया (हाल काठमाडौँ)
देवेन्द्रराज पाण्डे (२६), नुवाकोट (हाल काठमाडौँ)
निशान महर्जन (३९), कीर्तिपुर–५, काठमाडौँ
घाइतेमध्ये चार जनाको बीएन्डबी अस्पताल ग्वार्कोमा र एक जनाको महाँकाल–२ स्थित मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।