मिरमिरे अनलाइन खबर काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुनसरीको देवानगञ्जमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई लिएर सर्वसाधारणलाई कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न आग्रह गरेका छन्। उनले क्षेत्रको शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन हार्दिक अपिल गरेका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले देवानगञ्ज घटनाले उत्पन्न गराएको कठिन र संवेदनशील घडीमा धैर्यता र एकापसी सद्भाव नै सबैभन्दा महत्त्वपूर्ण हुने स्पष्ट पारेका छन्।
“विद्यमान कठिन परिस्थितिमा संयमता र सद्भाव निकै महत्तवपूर्ण रहन्छ,” थापाले विज्ञप्तिमा भनेका छन्, “अतः कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सद्भाव कायम राख्नका लागि योगदान पुर्याउन सम्पूर्ण स्थानीयवासी, सामुदायिक संघ-संस्था, नागरिक समाज र राजनीतिक दलहरूमा हार्दिक अपिल गर्दछु।”
राज्य संयमित नहुँदा नागरिकको ज्यान गयो: गगन थापा
विज्ञप्तिमार्फत महामन्त्री थापाले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्दै सरकार र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। संवेदनशील स्थितिमा राज्यका सुरक्षा निकाय थप सतर्क र जिम्मेवार हुनुपर्नेमा क्षति हुन पुग्नु दुःखद भएको उनको भनाइ छ।
“सामाजिक सद्भावमा असर पार्न सक्ने अति संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो,” महामन्त्री थापाले उल्लेख गरेका छन्, “परिस्थितिलाई समयमै आकलन गरी कुनै अप्रिय घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद र चिन्ताजनक छ।”
निष्पक्ष छानबिन र राहतको माग
थापाले देवानगञ्ज र त्यस आसपासका प्रभावित क्षेत्रहरूमा थप अशान्ति फैलिन नदिन सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले अवस्थालाई थप जटिल बन्न नदिन स्थानीय प्रशासनले शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने बताए।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री थापाले घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गरेका छन्। उनले घटनामा परी घाइते भएकाहरूको यथाशीघ्र नि:शुल्क उपचारको प्रबन्ध मिलाउन र ज्यान गुमाएका मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक सहयोग उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।