७ वर्षमा सकियो नागढुंगा सुरुङमार्गको निर्माण, आज उद्घाटन हुँदै

७ वर्षमा सकियो नागढुंगा सुरुङमार्गको निर्माण, आज उद्घाटन हुँदै

  • सोमवार, साउन ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

जापानी उच्च प्रविधिमा निर्माण गरिएको नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग सात वर्षको पर्खाइपछि अन्ततः सञ्चालनका लागि तयार भएको छ। यस ऐतिहासिक सुरुङमार्गको सोमबार एक विशेष समारोहका बिच औपचारिक उद्घाटन गरिने भएको छ। उद्घाटनलगत्तै सुरुवाती चरणमा भने एम्बुलेन्स लगायतका आपत्कालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ।

गुर्जुधारा फ्लाइओभरदेखि धादिङको सिस्नेखोलासम्म जोड्ने कुल ५.६७ किलोमिटर लामो यो मार्गमा २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङको नौबिसेबाट काठमाडौँ भित्रिने दूरी करिब चार किलोमिटर छोटिनेछ भने नागढुङ्गाको घण्टौँ लामो जाम, धुलो, पहिरो र दुर्घटनाको जोखिमबाट यात्रुले मुक्ति पाउनेछन्।

कुन सवारी चल्न पाउने, कुनमा प्रतिबन्ध?

नागढुङ्गा टनेल अपरेसन एन्ड मेन्टिनेन्सकी प्रवक्ता जिज्ञासा अधिकारीका अनुसार दुर्घटनाको जोखिम कम गर्न सुरुङमार्गमा विशेष सुरक्षा मापदण्ड लागू गरिएको छ।

  • अनुमति प्राप्त सवारी: कार, जिप, माइक्रोबस, मिनिबस, ट्रक तथा ४.७५ मिटरभन्दा कम उचाइ भएका सवारी साधन।

  • प्रवेश निषेध: डिजेल, पेट्रोल, ग्यास बुलेटजस्ता प्रज्वलनशील पदार्थ बोकेका गाडी तथा पशुपक्षी बोकेका सवारी साधन।

आपत्कालीन उद्धार र अत्याधुनिक सुरक्षा प्रणाली

मुख्य सुरुङसँगै २ हजार ६८८ मिटर लामो छुट्टै उद्धार (Evacuation) मार्ग पनि निर्माण गरिएको छ। मुख्य सुरुङमा कुनै दुर्घटना वा आगलागी भएमा यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न हरेक ३७५ मिटरको दूरीमा गरी ७ वटा आपत्कालीन निकास ढोका राखिएका छन्।

  • आगो नियन्त्रण प्रणाली: सुरुङभित्र ५५ वटा फायर हाइड्रेन्ट, ६६ वटा फायर डिटेक्टर र हरेक ५० मिटरमा अग्नि नियन्त्रण प्रविधि जडान गरिएको छ। आगलागी हुनासाथ डिटेक्टरले ट्राफिक कन्ट्रोल रुममा स्वतः सूचना पठाउनेछ।

  • वायु प्रदूषण नियन्त्रण: धुवाँ वा प्रदूषण बढेमा स्वतः सञ्चालन हुने ‘जेट फ्यान’ जडान गरिएको छ।

  • भूकम्पप्रतिरोधी प्रविधि: भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै दबाब परे पनि आफैँ पूर्ववत् अवस्थामा फर्किने विशेष ड्रेनेज पाइप प्रयोग गरिएको छ।

स्वचालित शुल्क प्रणाली र स्मार्ट लाइटिङ

सुरुङमार्ग प्रवेश गर्नुअघि चालकले टोल प्लाजाबाट अनिवार्य रूपमा शुल्क तिर्नुपर्नेछ। यसका लागि इलेक्ट्रोनिक टोल कलेक्सन (ETC)रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रणाली जडान गरिएको छ, जसले कम्प्युटरका माध्यमबाट स्वतः सवारीको प्रकार पहिचान गरी शुल्क निर्धारण गर्छ।

सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा:

सुरुङभित्र प्रवेश गर्दा चालकले अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्नेछ। बाहिरको उज्यालो अनुसार सुरुङभित्रको प्रकाश स्वतः समायोजन हुने (Adaptive Lighting) भएकाले चालकको आँखामा असर पर्दैन। साथै, विद्युत् अवरुद्ध भएमा आकस्मिक बत्ती र जेनेरेटर प्रणाली स्वतः सञ्चालन हुनेछ।

४५ मिनेटको यात्रा अब २० मिनेटमा

विगतमा नागढुङ्गाको उकालो पार गरेर सिस्नेखोला पुग्न सामान्य अवस्थामा पनि कम्तीमा ४५ मिनेट लाग्ने गर्थ्यो। अब गुर्जुधारा फ्लाइओभर हुँदै सुरुङमार्ग भएर सिस्नेखोला पुग्न मात्र २० मिनेट लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिइन्। यसले राजधानी आवतजावत गर्ने यात्रुहरूको समय र इन्धन बचत हुनुका साथै यात्रा थप सुरक्षित र सहज हुने विश्वास लिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी