वासिङ्टन डीसी, ११ साउन । इरानसँगको बढ्दो सैन्य मुठभेड र मध्यपूर्वमा आफ्नै वायु रक्षा (एयर डिफेन्स) प्रणालीको संकट चुलिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धको गति सुस्त बनाउन बाध्य भएका छन्। लगातार दुई सातासम्म इरानमाथि भीषण बमबारी गरेको अमेरिकाले हतियारको मौज्दात द्रुत गतिमा घट्दै गएपछि तनाव कम गर्ने दिशामा कदम चालेको हो।
इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन प्रहार तीव्र पारेपछि अमेरिकाको प्रतिरोधी (इन्टरसेप्टर) क्षेप्यास्त्रको भण्डार रित्तिन थालेको छ।
हतियारको कमीले पेन्टागनमा चिन्ता
द न्यूयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसमा हालै बसेको उच्चस्तरीय बैठकमा अमेरिकी वायु रक्षा क्षेप्यास्त्रको अभावबारे गम्भीर छलफल भएको छ। जोर्डनमा इरानी क्षेप्यास्त्र अमेरिकी सुरक्षा घेरा तोडेर छिर्दा तीन जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाभित्र चौतर्फी आक्रोश र चिन्ता बढेको छ।
अमेरिकी जनरल ड्यान केनका अनुसार इरानसँग पूर्ण युद्ध लड्ने क्षमता अमेरिकासँग भए पनि यसले मध्यपूर्वमा रहेको अमेरिकी सेन्ट्रल कमान्डसँग भएका प्रमुख क्षेप्यास्त्रहरू पूर्ण रूपमा रित्याउनेछ। अर्कोतर्फ, इरानी सेनासँग अझै पनि ठूलो सङ्ख्यामा क्षेप्यास्त्रहरूको भण्डार कायम रहेको आकलन गरिएको छ।
‘सैन्य बलले मात्रै समस्या समाधान हुँदैन’
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चेउङले राष्ट्रपति ट्रम्प सधैँ कूटनीतिक समाधानको पक्षमा रहेको बताएका छन्। यद्यपि इरानले होर्मुज जलडमरूमध्य वा अमेरिकी सहयोगीहरूमाथि आक्रमण जारी राखेमा सबै विकल्प खुला राखिने उनको भनाइ छ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ठूलो सैन्य कारबाहीले मात्र इरानलाई वार्तामा ल्याउन सकिँदैन। निरन्तरको आक्रमणले इरानी नेतृत्व र जनतालाई बाह्य खतराका विरुद्ध अझ बढी एकजुट बनाउने उनीहरूको बुझाइ छ।
राष्ट्रपति ट्रम्पले पनि आफू कूटनीति र सैन्य विकल्प दुवैमा छलफल गरिरहेको बताएका छन्। वार्ता असफल भएमा अमेरिकी सेना ठूलो आक्रमणका लागि तयार रहने भए पनि हाललाई इरानविरुद्ध तत्काल थप ठूलो हमला नगर्ने निष्कर्षमा ह्वाइट हाउस पुगेको छ।