चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। धनगढीमा अनशनरत डा. केसीको ब्लड सुगर घट्दै गएर शनिबार बिहान ५० एमजि/डिएलमा झरेको छ भने रक्तचापमा समेत तीव्र उतारचढाव देखिएको छ। मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिनुका साथै अनशन बस्नुअघि खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडडुल गर्नसमेत निकै कठिनाइ भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा मेडिकल टिम खटिएको छ।
यसैबीच, डा. केसीको खस्कँदो स्वास्थ्य र मागहरूप्रति सरकारले संवादको पहल थालेको छ। शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. अमृत जैसी र राति ११ बजे डा. केसीसँग टेलिफोनमा प्रत्यक्ष कुराकानी गरेका थिए। संवादका क्रममा डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य सर्तहरू अघि सारेका छन्। उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृहकार्यसहित मात्रै औपचारिक वार्तामा आउन सरकारलाई स्पष्ट आग्रह गरेका छन्।