नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालका वामपन्थीहरूको गैरजिम्मेवारपूर्ण भूमिका र कार्यशैलीका कारण नै आज देशमा जटिल राजनीतिक अवस्था उत्पन्न भएको बताउनुभएको छ। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशको अवाञ्छित स्थितिका लागि वामपन्थी शक्तिहरू पनि उत्तिकै जिम्मेवार रहेको औँल्याउनुभयो। जनताले दिएको विश्वासलाई वामपन्थी दलहरूले कति सही ढङ्गले प्रयोग गर्न सके भन्नेबारे गम्भीर समीक्षा र आत्मालोचना गर्नुपर्नेमा जोड दिँदै महामन्त्री सिंहले अब आफ्ना चरित्र र कार्यशैलीमा सुधार ल्याउन अपरिहार्य भइसकेको बताउनुभयो। साथै, उहाँले अमेरिकी साम्राज्यवादी शक्तिविरुद्धको लडाइँ नेपालीहरूका लागि जीवन-मरणको सवाल बनेको दाबी गर्दै युद्धको विरोध र विश्व शान्तिका लागि सम्पूर्ण वामपन्थीहरू एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो।