काठमाडौँ, २६ असार ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो। अस्पतालका चिकित्सकहरूका अनुसार शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई मृत घोषणा गरिएको हो।
उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको र अस्पताल ल्याउँदा नै अवस्था अत्यन्तै गम्भीर थियो। “उहाँको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। आगोको धुवाँ र तातो हावा श्वासप्रश्वास प्रणाली हुँदै फोक्सोसम्म पुगेकाले ‘इनहेलेसन इन्जुरी’ समेत भएको थियो,” डा. दाहालले भने, “हामीले सुरुदेखि नै भेन्टिलेटरमा राखेर हरसम्भव उपचार गरिरहेका थियौँ।”
उपचारकै क्रममा उनको मुटुको धड्कन रोकिएपछि दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) समेत गरिएको डा. दाहालले जानकारी दिए। पहिलो पटक सीपीआर गर्दा केही समयका लागि जीवनचिह्न फर्किए पनि दोस्रो पटकको प्रयास सफल हुन नसकेको चिकित्सकले जनाएका छन्।
गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकल पार्क गरेर शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई प्रहरी र सर्वसाधारणले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएका थिए। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
तीन नगर प्रहरी पक्राउ :
गणेश नेपालीले गरेको आत्मदाह प्रयास प्रकरणमा प्रहरीले तीन जना नगर प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरी रहेको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ।
प्रहरीका अनुसार आत्मदाह प्रयासअघि भएको घटनाक्रम, नगर प्रहरीको व्यवहार तथा उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
यस घटनाले सार्वजनिक सेवा प्रवाहका क्रममा नगर प्रहरीको व्यवहार र जिम्मेवारीबारे प्रश्न उठाएको छ।