मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

  • मङ्लबार, असार २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

जनकपुरधाम, २३ असारः संसद्भित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधार मानिन्छ । यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप मधेस प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा दूरगामी र स्वागतयोग्य उपलब्धिका रूपमा हेरिएको छ ।

पुस्तकालय केवल पुस्तक राख्ने कोठा होइन, विचारको संगम, अनुभवको भण्डार र भविष्यका निर्णयलाई दिशा दिने ज्ञानको केन्द्र हो । प्रदेशसभामा प्रस्तुत हुने विधेयक, बजेट, सार्वजनिक नीति, विकास योजना तथा जनसरोकारका विषयमा सांसदहरूले गहन अध्ययन गरी धारणा निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रदेशसभा सचिवालय परिसरमा सञ्चालनमा ल्याइएको पुस्तकालयले सांसद, कर्मचारी, कानुन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थीलाई एउटै थलोबाट आवश्यक सन्दर्भ सामग्री उपलब्ध गराउने विश्वास गरिएको छ ।

यही असार ४ गतेदेखि सञ्चालन भएको पुस्तकालयमा नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन, संसदीय कार्य सञ्चालनसम्बन्धी दस्तावेज, सार्वजनिक नीति, अर्थतन्त्र, सङ्घीयता, राजनीतिक इतिहास, समाजशास्त्र, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण, स्थानीय शासन, अन्तरराष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित पुस्तकहरू समावेश गरिएका छन् ।

साथै प्रदेशसभाका बैठकका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक, वार्षिक प्रतिवेदन तथा अन्य महत्त्वपूर्ण अभिलेखलाई क्रमशः व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना बनाइएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइराला बताउनुहुन्छ । यसले प्रदेशसभाको संस्थागत स्मृतिलाई सुरक्षित राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

“यो पुस्तकालयको उपयोगिता सांसदसम्म मात्र सीमित रहने छैन”, उहाँ भन्नुहुन्छ, “प्रदेशसभा सचिवालयका कर्मचारी, विश्वविद्यालयका विद्यार्थी, नीति विश्लेषक, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीका लागि पनि यो महत्वपूर्ण अध्ययन केन्द्र बन्ने अपेक्षा गरेका छौँ ।” विशेषतः तथ्यमा आधारित समाचार, अनुसन्धान तथा विश्लेषणात्मक सामग्री तयार गर्न पुस्तकालय प्रभावकारी स्रोत बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

विधेयक पारित गर्नुअघि त्यसको सामाजिक, आर्थिक, कानुनी तथा प्रशासनिक प्रभावको गम्भीर अध्ययन आवश्यक हुन्छ । विकसित लोकतान्त्रिक मुलुकहरूमा सांसदहरूले पुस्तकालय र अनुसन्धान केन्द्रबाट प्राप्त तथ्य, प्रतिवेदन तथा अन्तरराष्ट्रिय अभ्यासको अध्ययनपछि मात्रै संसद्मा धारणा प्रस्तुत गर्ने परम्परा स्थापित भएको छ । त्यही अभ्यासलाई मधेस प्रदेशसभामा पनि संस्थागत गर्ने दिशामा पुस्तकालय एउटा बलियो आधार बन्ने मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको भनाइ छ ।

पुस्तकालय सञ्चालनमा आएपछि सांसदहरूले विषयगत रूपमा तयारी गरेर तथ्यसहित बहस गर्ने वातावरण विस्तार हुनेछ । “पुस्तकालयले संसद्भित्र हुने छलफललाई अझ परिपक्व, सन्तुलित र परिणाममुखी बनाउने अपेक्षा गरेका छौँ”, सभामुख यादव भन्नुहुन्छ, “समयको मागअनुसार पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोड्ने योजना छ ।” पुस्तक, अभिलेख र प्रतिवेदनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ई–बुक, डिजिटल अभिलेख, अनलाइन खोज प्रणाली तथा इलेक्ट्रोनिक सन्दर्भ सामग्रीको व्यवस्था गर्न भविष्यमा डिजिटल पुस्तकालयको अवधारणा पूर्ण रूपमा कार्यान्वयन गर्ने योजना रहेको सभामुख यादवको कथन छ ।

प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयले सांसद, कर्मचारी, सञ्चारकर्मी, अनुसन्धानकर्ता तथा अध्ययनमा रुचि राख्ने सबैका लागि ज्ञानको साझा केन्द्रका रूपमा काम गर्ने उहाँको विश्वास छ । पुस्तकालयमा हाल ५०० भन्दा बढी पुस्तक उपलब्ध रहेको जानकारी दिनुहुँदै निकट भविष्यमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइने सभामुख यादव बताउनुहुन्छ ।

पुस्तकालय स्थापनाले प्रदेशसभाको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै अध्ययनशील, उत्तरदायी र दूरदर्शी संसदीय अभ्यासलाई थप मजबुत बनाउने उहाँको भनाइ छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ