लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

  • शनिबार, असार २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

लमजुङ, २० असार :
समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा सोह्रौँ शताब्दीमा बनेको लमजुङको बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित लमजुङ दरबार लामो समदेखी जिर्ण बनेपछि पुनः निर्माण सुरु भएको छ । शुरुमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि समयावधि लम्बिँदै जाँदा बल्ल पुनः निर्माण सुरु ब्व्हाएको हो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण अघि बढेको र यो दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली) को बन्नेछ। दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ।

शाहवंशीय शासनको उद्गमथलो लमजुङस्थित यस दरबारमा कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई १५४० सालमा लमजुङका खजे दुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा स्थापना गराएका थिए। त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरेको इतिहासमा उल्लेख छ। यो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोब्रह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए।

उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा १५५० सालमा राजगद्दीमा आसिन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ। उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह १५९८ सालमा राजा भए। उनीपछि क्रमशः चुडा शाह विसं १६४५, अचित शाह विसं १६६२, नरेन्द्र शाह विसं १६९३, केहरिनारायण शाह विसं १७३३, भीम शाह विसं १७९४, रिपुमर्दन शाह विसं १७९८ र वीरमर्दन शाह विसं १८०२–१८३९ गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए। लमजुङका अन्तिम राजा वीर शाह थिए। १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको इतिहासमा पढ्न पाइन्छ।

शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घले राजा अस्तित्वमा रहेको जानकारहरू बताउँछन्। त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजे दुरालगायतका दुराहरूको पहलमै लमजुङमा घले राजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका स्थानीयवासी देवबहादुर गुरुङले जानकारी दिए। शाहवंश आउनुअघि यहाँ घले राजाले राजकाज चलाएका थिए। नरहरि राजा भएका बेला यशोब्रह्मका छोराहरू झगडामा उत्रिएपछि कान्छो छोरा द्रव्य शाह राइनासकोटको गोठमा बसे। उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन्। पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसेको इतिहाँस छ ।

दरबारमा रहेको कालिका मन्दिरमा चैतेदसैँको घटस्थापनादेखि अष्टमीसम्म र बडादसैँ घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला लाग्ने गर्दछ। बडादसैँमा यहाँको प्रचलित विधानअनुसार २८ वटा बोका, छवटा राँगा, एक–एकवटा सुँगुर र भेडाको बलि दिने प्रचलन रहिआएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ