स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

  • मङ्लबार, असार ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, ९ असारः स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ ।

म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्य राखेको थियो । कार्यक्रममा नेपाल र स्पेनका सरकारी अधिकारी तथा व्यावसायिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फोरमको उद्घाटन सत्रमा कार्यवाहक राजदूत पुरक अधिकारीले सहभागीलाई स्वागत गर्दै नेपाल र स्पेनबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नैतिक रूपमा प्राप्त कच्चा पदार्थ र स्वदेशी प्रविधिमा आधारित पुस्तान्तरणीय नेपाली उद्योगहरूको परिचय पनि गराउनुभयो ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले नेपाल–स्पेन वस्त्र व्यापारसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै स्पेनी बजारमा नेपाली वस्त्रजन्य उत्पादनका सम्भावनाबारे जानकारी दिनुभयो । उहाँले स्पेनी उपभोक्तामाझ आकर्षण बढाउन सक्ने विभिन्न नेपाली वस्त्र तथा तयारी पोसाकका उत्पादनहरू प्रस्तुत गर्नुभयो ।

नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे तथा उपाध्यक्ष देवनन्द सरावगीले नेपाल–स्पेन व्यापारको इतिहास र संरचनाबारे प्रस्तुति दिँदै च्याङ्ग्रा ऊन, हिमाली भेडाको ऊन, भाङ र सिस्नोजस्ता प्राकृतिक रेसाबाट बनेका नेपाली वस्त्र तथा गहनाका प्रतिस्पर्धात्मक विशेषताबारे प्रकाश पार्नुभयो । उहाँहरूले हस्तनिर्मित चाँदीका गरगहना, जपमाला तथा परम्परागत आभूषणप्रति अन्तर्राष्ट्रिय विशिष्ट बजारमा बढ्दो आकर्षण रहेको उल्लेख गर्नुभयो ।

नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले कानुनी तथा नीतिगत सुधारका कारण नेपाली तयारी पोसाक उद्योगमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । उहाँले दुवै देशका व्यावसायिक समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

स्पेन उद्योग तथा वाणिज्यमण्डलका अन्तरराष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलताबारे जानकारी दिँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तरराष्ट्रिय उत्पादनप्रति आकर्षित हुँदै गएको बताउनुभयो । उहाँले व्यवसाय–व्यवसायबीचको साझेदारी विस्तार भएमा नेपाल–स्पेन व्यापारिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रश्नोत्तर तथा ‘नेटवर्किङ’ सत्रसँगै सम्पन्न भएको उक्त कार्यक्रममा स्पेनका वस्त्र तथा गहना उद्योगका प्रतिनिधि, लगानी प्रवर्द्धन निकाय, सरकारी अधिकारी तथा स्पेनी सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी