१९ कात्तिक, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे उक्त बैठक बस्न लागेको हो।
सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको लगायतका पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन्। हालै सार्वजनिक भएको इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीको वैधानिकताका लागि १८ करोड खर्च गरेको प्रसंग चर्चामा आएपछि कांग्रेसले यसलाई सरकारको षडयन्त्र भनेको छ। सरकारले निराधार, कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकतामाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ।
सरकार प्रतिपक्षको आवाज थुन्न लागिपरेको भन्दै न्यायपालिका र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध राजनीतिक एवं कानुनी प्रतिवाद गर्ने कांग्रेसले बताउँदै आएको छ। साथै, कांग्रेसले पत्रकारहरूमाथिको धरपकड लगायत सरकारका पछिल्लो विवादित गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै चाँडोभन्दा चाँडो प्रतिनिधिसभाको बैठक बोलाउन माग समेत गरेको छ।
पार्टीकी महामन्त्री डा. डिला संग्रौलाले यो औपचारिक बैठक नभई समसामयिक विषयमा कुराकानी गर्नका लागि बस्न लागेको अनौपचारिक छलफल मात्रै भएको जानकारी दिएकी छन्।
त्यसैगरी, पार्टीका सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टी संगठनको समसामयिक विषयमा पनि बैठकमा छलफल हुनेछ। पार्टीका जिल्ला र प्रदेश अधिवेशनहरू हुन बाँकी रहेकाले तिनै विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच विस्तृत छलफलका लागि बैठक बस्न लागेको उनले बताएका छन्।