अमेरिकाले इरानको तेल क्षेत्रमा लगाउँदै आएको प्रतिबन्धमा अस्थायी छुट जारी गरेको छ। यस अन्तर्गत इरानी कच्चा तेल र पेट्रोकेमिकल्सको उत्पादन, बिक्री, ढुवानी र आयातको अनुमति दिइएको अमेरिकी अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) ले जनाएको छ। यो घोषणा वासिङ्टन र तेहरानबीच सप्ताहन्तमा स्विट्जरल्याण्डमा भएको पहिलो चरणको वार्तापछि पनि संवाद जारी रहेकै पृष्ठभूमिमा आएको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार एक्स (ट्विटर) मार्फत जानकारी दिँदै ‘इरान जनरल लाइसेन्स एक्स’ले ६० दिनको अवधिका लागि “इरानी मुलका कच्चा तेल, पेट्रोकेमिकल उत्पादनहरू र पेट्रोलियम उत्पादनहरूको उत्पादन, ढुवानी र बिक्री” लाई अनुमति दिने बताएका छन्।
यो इजाजतपत्रले ऊर्जा व्यापारसँग जोडिएका सेवाहरू जस्तै—जहाज व्यवस्थापन, बीमा, चालक दल (क्रूइङ), बङ्करिङ (जहाजमा इन्धन भर्ने कार्य), वर्गीकरण (क्लासिफिकेसन), र आपतकालीन मर्मतसम्भारलाई समेत समेट्छ। यस लाइसेन्स अन्तर्गत पर्ने कारोबारहरूका लागि खरिदकर्ताहरूले इरान, इरानी सरकार वा प्रतिबन्धित इरानी निकायहरूलाई अमेरिकी डलरमा भुक्तानी गर्न पाउनेछन्।
सन् २०२६ को मार्चमा जारी गरिएको ‘जनरल लाइसेन्स यू’ को तुलनामा यो नयाँ लाइसेन्स फरक छ। मार्चको लाइसेन्स निश्चित मितिभन्दा अगाडि नै ट्याङ्करहरूमा लोड भइसकेको तेलमा मात्र सीमित थियो भने यो नयाँ लाइसेन्सले तेल उत्पादन गर्ने गतिविधिहरूलाई समेत अनुमति दिन्छ।
यस इजाजतपत्रले सामान्यतया इरानी उत्पादन आयातमा लगाइने प्रतिबन्धहरूलाई अस्थायी रूपमा निलम्बन गर्दै इरानी मुलका कच्चा तेल, पेट्रोलियम र पेट्रोकेमिकल उत्पादनहरू अमेरिकामा आयात गर्न समेत अनुमति दिन्छ।
यो अनुमति यसै महिनाको सुरुमा अमेरिका र इरानबीच भएको समझदारी पत्र (MoU) को एक हिस्साको रूपमा आएको हो, जसमा वासिङ्टनले इरानी तेल निर्यातमा तुरुन्तै छुट दिने प्रतिबद्धता जनाएको थियो।
कतार र पाकिस्तानको मध्यस्थतामा स्विट्जरल्याण्डमा भएको वार्तापछि वासिङ्टन र तेहरान अन्तिम सम्झौताका लागि रोडम्यापमा सहमत भएका हुन्। यद्यपि कुनै संयुक्त विज्ञप्ति जारी गरिएको छैन, तर मध्यस्थकर्ताहरूका अनुसार वार्ताले अन्तिम सम्झौताका लागि ६० दिने रोडम्याप, थप प्राविधिक वार्ताहरू, र प्रक्रियाको रेखदेख गर्न एक उच्च-स्तरीय समिति गठन गर्ने सहमति जुटाएको छ। तेहरानका अनुसार वार्ता मुख्यतया रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गर्ने र इरानी बन्दरगाह तथा ढुवानीमाथिका प्रतिबन्धहरू हटाउने जस्ता व्यावहारिक आर्थिक उपायहरूमा केन्द्रित थियो।
इरानसँग विश्वकै सबैभन्दा ठूलो हाइड्रोकार्बन (इन्धन) भण्डारहरूमध्ये एक छ र कच्चा तेल तथा प्राकृतिक ग्याँस दुवैमा यो विश्वकै अग्रणी देशहरूमा पर्छ। ढुवानी सेवा, बीमा, अन्तर्राष्ट्रिय बैंकिङ माध्यम र सम्भावित खरिदकर्ताहरूसम्मको पहुँचमा रोक लगाउने अमेरिकी प्रतिबन्धहरूका कारण विगत केही वर्षदेखि इरानको ऊर्जा क्षेत्र खुम्चिएको थियो।
प्रतिबन्धका बावजुद इरानले कच्चा तेल निर्यात जारी राखेको थियो, जसमा चीन उसको सबैभन्दा ठूलो ग्राहक बनेको छ। अमेरिकी जरिवानाको जोखिम मोलेरै भए पनि चीनका स्वतन्त्र रिफाइनेरीहरूले ठूलो मात्रामा इरानी तेल खरिद गरिरहेका थिए।