काठमाडौँ, ७ असार ।
नेकपाका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ ले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच विचार र एजेन्डामा कयौँ समानता रहेको दाबी गरेका छन्। रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा नेता पुनले यस्तो धारणा राखेका हुन्।
समारोहलाई सम्बोधन गर्दै नेता पुनले दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक परम्परा र निरन्तरतालाई क्रमभङ्ग गरेर नयाँ बाटो तय गरेको बताए। “तपाईंहरू र हाम्रा कयौँ विषयमा समानता छन्। पृष्ठभूमि र काम गर्ने तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका मुख्य एजेन्डामा हामी तपाईंहरूलाई निकै नजिक पाउँछौँ,” पुनले भने।
विशेष गरी देशको वर्तमान आवश्यकता सुशासन भएको उल्लेख गर्दै उनले भ्रष्टाचार विरोधी अभियान र सुशासनका सवालमा नेकपा र रास्वपाबीचको सहकार्य अरू दलहरूको तुलनामा सबैभन्दा बलियो र निकट रहेको प्रष्ट पारे।