खबराको केराखेतीः समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

खबराको केराखेतीः समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

  • बिहिबार, असार ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

म्याग्दी, ४ असारः जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेका छन् । पसाउने बेलामा केराका टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि उक्त समस्या पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले आज केरा बगैँचाको निरीक्षण गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेर प्रयोगशालामा लगेको जानकारी दिनुभयो । “समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुमा, थाम, पात, जराको भागको नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाएका छौँ”, उहाँले भन्नुभयो, “प्रयोगशालाको प्रतिवेदनको आधारमा रोग पहिचान गरि नियन्त्रणको प्रयास गरिनेछ ।”

प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी र कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत सुजाता केसीले समस्या देखिएका बगैँचाबाट बोटबिरुवा अन्यत्र लैजान र कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाइ गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।

एक सय २० परिवार रहेको खबराका १०० भन्दाबढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताउनुभयो ।

सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको किसान कृष्ण सापकोटाले बताउनुभयो । खबरामा ७०० रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकामा १५ प्रतिशत बगैँचामा समस्या देखिएको जनाउँदै करिब ३० प्रतिशत उत्पादन घटेको किसान दिपक सापकोटाले जानकारी दिनुभयो ।

केराखेतीबाट मासिक न्यूनतम रु १२ हजारदेखि रु ५० हजारभन्दा बढी आम्दानी किसानले गर्दै आएका छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएका केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ