नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

  • मङ्लबार, असार २, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ, २ असारः नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी हुनहुुन्थ्यो भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रास्मुस अबिल्डगार्ड क्रिस्टेन्सेन तथा नयाँ दिल्लीस्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् १९६७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्कबीच कायम रहँदै आएको आत्मीय र मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरेका थिए । साथै, आगामी दिनहरूमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सन् २०२७ मा नेपाल–डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउने सहमतिसमेत जनाएका छन् । नेपाल र डेनमार्क दुवै देशमा हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएको सन्दर्भलाई स्मरण गर्दै दुवै पक्षले नयाँ राजनीतिक जनादेशले साझा हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा सहकार्यलाई विस्तार गर्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सुशासन, पारदर्शिता, दिगो विकास तथा लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धताका आधारमा सहकार्य अघि बढाइनेमा दुवै पक्षले जोड दिएका छन् ।

नेपाली पक्षले विदेशी लगानीका लागि अझ अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले सरकारले अवलम्बन गरिरहेको आर्थिक सुधार तथा विभिन्न उपायबारे जानकारी गराएको थियो । प्रतिनिधिमण्डलहरूबीच स्वच्छ ऊर्जा, व्यापार तथा लगानी, पर्यटन, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अवसरहरूबारे छलफल भएको थियो ।

परामर्शका क्रममा दुवै पक्षले जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलगायत साझा चासोका क्षेत्रीय तथा विश्वव्यापी विषयहरूमा समेत विचार आदानप्रदान गरेका छन् ।

बैठकपश्चात् नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले डेनिस प्रतिनिधिमण्डलका प्रमुख तथा सदस्यहरूको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको थियो । नेपाल र डेनमार्कबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र ११ जुन २०१८ मा हस्ताक्षर गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी