काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वालेन्द्र शाह देशको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता सुवेदीले प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका विषयमा संसद्मा दिएको अभिव्यक्तिप्रति तीव्र आक्रोश व्यक्त गरे। उनले प्रधानमन्त्रीको सो विवादित भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गर्दै आम नागरिकसमक्ष तत्काल माफी माग्नुपर्ने अडान राखेका छन्।
“वालेन्द्र शाहज्यू जस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नेपाली जनताका लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ र कति मिचेको छ, त्यो नेपाली जनतालाई स्पष्ट जानकारी गराइयोस्,” अध्यक्षमार्फत प्रश्न गर्दै सुवेदीले भने, “मातृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन। हरेक नेपालीको रगतमा देशभक्तिपूर्ण भावना जीवन्त छ, त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा क्षमा माग्नुपर्छ।”
राष्ट्रियतामाथि आघात पुग्ने अभिव्यक्ति स्वीकार्य छैन
बैठकमा बोल्दै सांसद सुवेदीले मुलुकको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले राष्ट्रियता र मातृभूमिसँग जोडिएको संवेदनशील विषयमा यस्तो गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए।
नेपालको निर्माण पुर्खाको ठूलो बलिदान र संघर्षबाट भएको स्मरण गराउँदै उनले राष्ट्र र राष्ट्रिय अखण्डतामाथि आघात पुग्ने खालका कुनै पनि अभिव्यक्ति कुनै पनि तहबाट स्वीकार्य नहुने चेतावनी दिए।