रञ्जीत आचार्य कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को जुरी सदस्यमा मनोनित

रञ्जीत आचार्य कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को जुरी सदस्यमा मनोनित

  • आइतवार, जेष्ठ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ । प्रिज्मा एड्भर्टाइजिङका संस्थापक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा स्थान बनाउने आचार्य पहिलो नेपाली सिर्जनशील व्यक्तित्व हुन् ।

विश्व चलचित्र उद्योगको प्रसिद्ध केन्द्र फ्रान्सको कान्स शहरमा प्रत्येक वर्ष आयोजना हुने यो एकमात्र अन्तर्राष्ट्रिय महोत्सव हो, जसले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र तथा प्रतिवेदन निर्माणका लागि विश्वस्तरीय मापदण्ड निर्धारण गर्दै आएको छ । सन् २०१० मा स्थापना भएको यस अवार्डको मुख्यालय अष्ट्रियाको भियना शहरमा रहेको छ ।

यस महोत्सवको निर्णायक मण्डलमा विगतमा ओस्कार र एमी अवार्ड विजेताहरू समेत सहभागी भइसकेका छन् । सन् २०२६ को १७औँ संस्करणमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन्, जहाँ विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, ग्राहक संस्था, प्रसारण संस्था तथा विद्यार्थीहरूले सहभागिता जनाउँदै छन् । यहाँ प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरू कर्पोरेट फिल्म क्षेत्रकै सर्वोच्च सम्मान मानिन्छन् ।

विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क (पीआर) क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव सम्हालेका आचार्य नेपालको सञ्चार तथा विज्ञापन उद्योगका प्रभावशाली व्यक्तित्व हुन् । आचार्यकै नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले विज्ञापन क्षेत्रको प्रतिष्ठित ‘कृति अवार्ड’ मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि प्राप्त गरिसकेको छ ।

नेपाली उपभोक्ताको दैनिक बोलचालको हिस्सा बनेका चर्चित नाराहरू ‘चिसो भनेकै कोका–कोला’, ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’ र ‘गरी खाना देऊ’ उनकै सिर्जना हुन् । कोका–कोला नेपालको ‘मन खोलौँ कोकसँग’ अभियान तथा ‘मेरो मोबाइल’ लाई ‘एनसेल’ मा पुनः ब्रान्डिङ गर्ने ऐतिहासिक अभियानको नेतृत्व पनि उनले गरेका थिए । एनसेलको पुनः ब्रान्डिङका क्रममा नेपालको इतिहासमै पहिलो पटक दैनिक पत्रिकाको मास्टहेडलाई बैजनी (पर्पल) रंगमा रूपान्तरण गरी प्रकाशन गरिएको थियो ।

आचार्यले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेका छन् । सन् २००० मा अमेरिकाको जोन्सन एण्ड जोन्सनबाट प्राप्त ‘बेल रिङ्गर अवार्ड’, सन् २००७ मा एड क्लब मुम्बईबाट प्राप्त ‘एबी अवार्ड’ तथा हालै सिंगापुरमा प्राप्त ‘ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५’ उल्लेखनीय छन् । प्रिज्मा एड्भर्टाइजिङ उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली एजेन्सी हो ।

विज्ञापन क्षेत्रबाहेक आचार्य नीलबाराही फिल्म्सका प्रबन्ध निर्देशक, बाईस्कोप सिनेमाका संस्थापक निर्देशक, संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष तथा डीएनए प्रालिका अध्यक्ष समेत हुन् ।

त्यसैगरी, टोस्टमास्टर्स इन्टरनेसनलमा २६ वर्षभन्दा बढी नेतृत्व अनुभव सँगालेका उनले सन् २०२१–२२ मा डिस्ट्रिक्ट डाइरेक्टरको जिम्मेवारी सम्हालेका थिए । उनी टोस्टमास्टर्स इन्टरनेसनलबाट प्रदान गरिने सर्वोच्च व्यक्तिगत सम्मान ‘प्रेसिडेन्सियल साइटेसन २०१८’ प्राप्त गर्ने नेपालका एकमात्र व्यक्तित्व हुन् ।

उक्त मनोनयनबारे आफ्नो धारणा राख्दै आचार्यले भने, “सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट हुँदैन । सत्य र उत्कृष्ट प्रस्तुतीकरणसहित सुनाइने हरेक कथाले विश्वमञ्च पाउन योग्य हुन्छ । यो मनोनयन मेरो मात्र होइन, सीमाभन्दा पर सपना देख्ने साहस गर्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि हो ।”

कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवाड्र्सको निर्णायक मण्डलमा आचार्यको मनोनयनले पहिलो पटक नेपाली सिर्जनशील प्रतिभालाई विश्वस्तरीय दृश्य मिडिया मूल्याङ्कनको उच्चतम तहमा पुर्‍याएको छ । जुरी सदस्यका रूपमा उनले विश्वभरबाट प्राप्त प्रविष्टिहरूको मूल्याङ्कन गर्नेछन्, जसले अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाली कथा–वाचन शैली र विकासशील बजारको दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ