२४ जेठ, काठमाडौं । काठमाडौंको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शुक्रबार राति १०:१० बजे तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारस्थित आफ्नै कोठामा घरायसी विवाद हुँदा थापाले श्रीमती भुजेलमाथि फलामको रड प्रहार गरेका थिए ।
रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टीचिंग), महाराजगञ्ज पुर्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नाको पृष्ठभूमि: पक्राउ परेका आरोपी कुमार थापा सामाजिक सञ्जाल र खेल क्षेत्रमा आफूलाई ‘प्रो रेस्लर’ (व्यावसायिक रेस्लर) का रूपमा चिनाउने गर्दथे र उनलाई ‘नेपाली ब्रो’ उपनामले समेत चिनिन्थ्यो ।
हत्या लगत्तै सक्रिय भएको प्रहरी टोलीले आरोपी थापालाई नियन्त्रणमा लिएको छ । उनलाई हाल प्रहरी वृत्त बालाजुमा राखेर घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।