ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

गलकोट (बागलुङ), १७ जेठ: जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका-३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गर्नुभएकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताउनुभयो ।

ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सघाउँदै आएको छ । ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै आएका छन् ।

महिलाले उत्पादन गरेका कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताउनुभयो । करिब सात वर्ष पहिले म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो ।

महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ ।

“पालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ । ती कार्यक्रममा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गर्दै आएका छौँ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौँ”, गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भन्नुभयो ।

गाउँपालिकाले सात वर्ष पहिले महिलाका लागि सीपमूलक तालिम दिनुका साथै आवश्यक सामाग्री उपलब्धध गराउनुका साथै भवन बनाउन पनि सहयोग गरेको छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले रु २५ लाख लगानी गरिसकेको छ । यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएका उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

सुरुवातका दिनमा आफूले उत्पादन गरेका सामग्री बिक्री नभएर सास्ती भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएका घर्तीले बताउनुभयो । महिला कल्याण आमा समूहको कोषाध्यक्षसमेत रहनुभएकी उहाँले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ