फिफा विश्वकप २०२६: यी हुन् ट्रफी उचाल्न सक्ने ५ बलियो दाबेदार राष्ट्र

फिफा विश्वकप २०२६: यी हुन् ट्रफी उचाल्न सक्ने ५ बलियो दाबेदार राष्ट्र

  • बुधबार, जेष्ठ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । आगामी जुलाई १९ मा अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा फुटबल इतिहासकै सबैभन्दा ठूलो फैसला हुँदै छ। कुल ४८ टोलीको सहभागिता रहने फिफा विश्वकप २०२६ को ट्रफी कुन देशले उचाल्ला? के अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्ला, वा फ्रान्सले फेरि विश्वविजेताको ताज पहिरिएला? अथवा पोर्चुगलले पहिलोपटक इतिहास रच्ने यो सही समय हो? फिफा वरीयताका शीर्ष ५ टोलीलाई यसपालिको मुख्य दाबेदार मानिएको छ। उपाधि भोक, लय र स्टार खेलाडीको बलमा मैदान उत्रिने यी ५ राष्ट्रको अवस्था यस्तो छ:

१. फ्रान्स: युवा जोस र अनुभवको सन्तुलन
सन् २०१८ को विजेता तथा २०२२ को उपविजेता फ्रान्स प्रशिक्षक डिडियर देशच्याम्पको नेतृत्वमा सधैँझैँ बलियो देखिएको छ। टोलीको मुख्य हतियार किलियन एमबाप्पे हुन्, जसले रियाल मड्रिडबाट खेल्दै गत सिजन ४४ खेलमा ४२ गोलको सानदार प्रदर्शन गरेका छन्। कतार विश्वकपमा फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेसँगै टोलीमा ‘द बेस्ट फिफा मेन्स प्लेयर’ विजेता उसमेन डेम्बेले पनि छन्। पेस, पावर र युवा आक्रामक खेलाडीहरूलाई लयमा राख्न सके फ्रान्स तेस्रोपटक विश्वविजेता बन्न सक्छ।

२. स्पेन: युरो कपको विजेता, युवाहरूको भरोसा
सन् २०२४ को युरोपेली च्याम्पियन स्पेन अहिलेको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा खतरनाक टोली मानिन्छ। प्रशिक्षक लुइस डे ला फ्युन्टेले टोलीलाई परम्परागत पोसेसनसँगै आक्रामक स्वतन्त्रता दिएका छन्। टोलीका मुख्य आकर्षण १८ वर्षीय विङ्गर लमिन यमाल हुन्, जसले बार्सिलोनालाई ला लिगा जिताउन २८ गोलमा योगदान (१६ गोल, १२ असिस्ट) गरेका थिए। रोद्री, पेड्री र डानी ओल्मो सम्मिलित यो टोली प्राविधिक रूपमा बलियो छ, यद्यपि युवा खेलाडी धेरै भएकाले ठूला खेलमा अनुभवको कमी र सेन्ट्रल स्ट्राइकरको अभाव टोलीका लागि चुनौती बन्न सक्छ।

३. अर्जेन्टिना: उपाधि रक्षा गर्ने दाउ र मेसीको अन्तिम जादू
साबिक विजेता अर्जेन्टिना यसपालि सन् १९६२ को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने दुर्लभ कीर्तिमान बनाउने लक्ष्यमा छ। कतार विश्वकप र २०२४ को कोपा अमेरिका जिताएका प्रशिक्षक लियोनल स्कालोनीको यो टोली निकै सन्तुलित छ। ३९ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेल्न लागेका कप्तान लियोनल मेसी नै टोलीको मुख्य खम्बा हुन्। जुलियन अल्भारेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरो जस्ता खेलाडी लयमा हुनु अर्जेन्टिनाको बलियो पक्ष हो, तर मेसीको शारीरिक अवस्था र कतारको जस्तै भावनात्मक ऊर्जा कायम राख्नु उनीहरूका लागि चुनौतीपूर्ण हुनेछ।

४. इंग्ल्यान्ड: ६० वर्षको खडेरी टार्ने दाउ
पछिल्ला चार मुख्य प्रतिस्पर्धामध्ये तीनवटामा सेमिफाइनल पुगेको इंग्ल्यान्ड सन् १९६६ यता पहिलो मुख्य ट्रफी जित्ने व्यग्र प्रतीक्षामा छ। नयाँ प्रशिक्षक टमस टुचेलको नेतृत्वमा रहेको टोलीसँग ज्युड बेलिङह्याम र कप्तान ह्यारी केन जस्ता विश्वस्तरीय आक्रामक खेलाडी छन्। बायर्न म्युनिखबाट खेल्दै ५१ खेलमा ६१ गोल गरेका केनलाई बुकायो साका, मार्कस राशफोर्ड र मोर्गन रोजर्स जस्ता खेलाडीले साथ दिनेछन्। इंग्ल्यान्डका लागि ह्यारी केनको फिटनेस र ६ दशक लामो ट्रफीको खडेरीले सिर्जना गर्ने मानसिक दबाब नै मुख्य चुनौती हो।

५. पोर्चुगल: रोनाल्डोको कप्तानीमा पहिलो ट्रफीको खोजी
नेसनल लिग र युरो कप जितिसकेको पोर्चुगल अहिलेसम्म विश्वकप ट्रफीबाट टाढै छ। कीर्तिकाका लागि छैटौँ विश्वकप खेल्न लागेका क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल यसपालि इतिहास रच्न चाहन्छ। साउदी क्लब अल नासरमा निरन्तर गोल गरिरहेका रोनाल्डोसँगै टोलीमा ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, रफाइल लियो र रक्षापंक्तिमा रुबेन डियाज जस्ता भेट्रान खेलाडीहरू छन्। प्रशिक्षक रोबर्टो मार्टिनेजका लागि स्थापित स्टार र नयाँ पुस्ताबीचको तालमेल मिलाउनु तथा बलिया टोलीविरुद्ध रक्षापंक्ति बलियो बनाउनु मुख्य चुनौती हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी