काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको प्रकोप फैलिएपछि त्यहाँ तैनाथ नेपाली शान्ति सेना र नेपालमा हुन सक्ने सम्भावित संक्रमणलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको छ। विश्व स्वास्थ्य संगठन (WHO) ले यस प्रकोपलाई विश्वव्यापी चासोको विषय मान्दै ‘विश्व स्वास्थ्य संकट’ घोषणा गरेसँगै नेपाली सेनाले आफ्नो सुरक्षा रणनीति कडा बनाएको हो।
हाल इटुरी प्रान्तको राजधानी बुनिया लगायतका तीनवटा स्थानमा ९ सय ७० जनाभन्दा बढी नेपाली शान्ति सेना खटिएका छन्। नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार, छुट्टी वा अन्य कुनै पनि कारणवश कंगोबाट स्वदेश फर्किने सैनिकहरूलाई २१ दिनसम्म अनिवार्य आइसोलेसनमा राख्ने निर्णय गरिएको छ। यस आइसोलेसनको अवधिमा सैनिक मेडिकल विभागले सम्बन्धित व्यक्तिहरूसँग निरन्तर समन्वय गर्दै स्वास्थ्य परीक्षण गर्नेछ।
सेनाले मैदानमै सुरक्षात्मक उपायका साथै संक्रमणको अवस्थामा गर्न हुने र नहुने विषयहरूबारे विस्तृत जानकारी गराइसकेको छ। बाहिर पेट्रोलिङ गरेर फर्कने टोलीलाई समेत आइसोलेसनमा राखेर सुरक्षा प्रोटोकल पालना गराइएको छ। नेपाली सेनाको शान्ति सेना निर्देशनालय र संयुक्त राष्ट्रसंघको मेडिकल सुरक्षा प्रोटोकल दुवै तर्फबाट आवश्यक निर्देशन दिइ सकिएको र हालसम्म कुनै पनि नेपाली सैनिकमा संक्रमण पुष्टि नभएको प्रवक्ता बस्नेतले जानकारी दिए।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला जंगली जनावरमा पाइने भाइरसबाट मानिसमा सर्ने र पछि मानिसबाट मानिसमा फैलिने घातक रोग हो, जुन हाल कंगो र युगान्डामा पुष्टि भएको छ। यो भाइरस सङ्क्रमण भएपछि लक्षण देखिन २ देखि २१ दिनसम्म लाग्न सक्छ। सुरुवाती चरणमा ज्वरो आउने, अत्यधिक कमजोरी महसुस हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने जस्ता लक्षण देखिन्छन् भने रोग बढ्दै जाँदा बान्ता हुने, झाडापखाला लाग्ने र कतिपय अवस्थामा आन्तरिक तथा बाह्य रक्तस्राव समेत हुन सक्छ।