वीरगञ्ज २२ । पर्सामा दीपावली पर्वको समयमा पटाका पड्काउने क्रममा आगो लागेर गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।
पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार सोमबार बिहान करिब ८ः३० बजे बालकले पटाका पड्काउने क्रममा अचानक आगो लागेर उनको छातीमा गम्भीर चोट पुगेको थियो। आगोले जलेर गम्भीर घाइते भएका बालक घटनालगत्तै बेहोस भएका थिए।
घटनापछि परिवारजनले तत्काल उपचारका लागि उनलाई वीरगञ्जस्थित तराई अस्पताल पुर्याएका थिए। तर, चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा बालकको मृत्यु भएको उनका बुबा मखु सहनीले बताएका छन्।
घटनाले परिवारमा शोक छाएको छ भने स्थानीय क्षेत्रमा समेत दुःख र स्तब्धता फैलिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।
पटाका तथा विस्फोटकजन्य सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने यो घटनाले पुनः स्मरण गराएको छ। विशेषगरी बालबालिकालाई यस्ता सामग्रीबाट टाढा राख्न र अभिभावकले उनीहरूको सुरक्षामा विशेष ध्यान दिन आवश्यक देखिन्छ।