काठमाडौं, १२ जेठ ।
काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको समूह चरणका खेलहरू सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। सेन्ट्रल एसियाका ८ टोली सहभागी यस प्रतियोगितामा नेपाल, भारत, इरान र कजाखस्तानले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
मंगलबार भएका अन्तिम समूह चरणका खेलहरूमा भारतले कीर्गिस्तानलाई र इरानले कजाखस्तानलाई सोझो सेटमा पराजित गरेपछि सेमिफाइनल पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। समूह ‘ए’ बाट भारत समूह विजेता र घरेलु टोली नेपाल उपविजेता बन्दै सेमिफाइनल पुगेका छन्। त्यस्तै, समूह ‘बी’ बाट इरान विजेता र कजाखस्तान उपविजेता बनेका छन्।
सेमिफाइनलको भिडन्त
अब आगामी बिहीबार हुने पहिलो सेमिफाइनलमा भारत र कजाखस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ। सोही दिन साँझ ५:०० बजे हुने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्नेछ।
समूह ‘ए’ मा भारतले ३ खेलबाट ८ अंक जोड्यो भने नेपाल २ जित र १ हारसहित ७ अंकका साथ दोस्रो बन्यो। समूह ‘बी’ मा इरानले आफ्ना सबै खेल ३–० को सोझो सेटमा जित्दै ९ अंकका साथ शीर्ष स्थान कब्जा गर्दा कजाखस्तान ६ अंकसहित दोस्रो भयो।
नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले समूह चरणमा सबै खेलाडीलाई अवसर दिएको उल्लेख गर्दै इरानको बलियो डिफेन्सविरुद्ध विशेष रणनीतिका साथ मैदान उत्रने बताएका छन्। अर्कातर्फ, इरानकी सेफिनुड दास्तबार्जनले घरेलु दर्शकको साथले नेपाल बलियो भए पनि बाँकी दुई खेल जितेर उपाधि रक्षा गर्ने आफ्नो टोलीको लक्ष्य रहेको बताएकी छिन्।
विश्व वरीयतामा नेपालको ठूलो छलाङ
विश्व भलिबल महासंघ (FIVB) को वरीयता प्राप्त यस प्रतियोगितामा नेपालले ऐतिहासिक सुधार गरेको छ। प्रतियोगिता सुरु हुनुअघि ६२औं स्थानमा रहेको नेपाल लगातार दुई खेल जित्दै ५४औं स्थानमा उक्लन सफल भएको छ। हाल सेमिफाइनल पुगेका टोलीहरूमध्ये कजाखस्तान ३६औं, इरान ४४औं र भारत ६२औं स्थानमा रहेका छन्।