काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादले उग्र रूप लिँदा एक युवकको बीभत्स हत्या भएको छ। आफ्नै भिनाजुको चक्कु प्रहारबाट महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका अन्दाजी २०–२५ वर्षका जाकिर मन्सुरीको मृत्यु भएको हो।
हत्या आरोपमा प्रहरीले मृतकका भिनाजु नाता पर्ने ३८ वर्षीय समि अहमदलाई घटनास्थलबाटै पक्राउ गरेको छ। महोत्तरी स्थायी घर भएका अहमद हाल खरिबोटमा बस्दै आएका थिए।
तरकारी काट्ने चक्कुले प्रहार
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार राति सवा ९ बजेतिर उनीहरूबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। भनाभन बढ्दै जाँदा समि अहमदले रिसको आवेगमा जाकिरमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्कालै उद्धार गरी सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएकाे केही मिनेटमै राति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
आरोपी चक्कुसहित नियन्त्रणमा
घटनालगत्तै सक्रिय भएको थानकोट प्रहरी वृत्तको टोलीले हत्यामा प्रयोग भएको चक्कुसहित आरोपी समि अहमदलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थलको प्रारम्भिक जाँच तथा लास जाँच मुचुल्काको प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टीचिंग) पठाएको छ। पारिवारिक विवादको मुख्य कारण के थियो भन्नेबारे प्रहरीले हिरासतमा रहेका अहमदमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।