नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको बाह्रौँ साधारण सभा सम्पन्न: मौलिक गहना प्रवर्द्धनमा जोड
काठमाडौँ, १९ वैशाख
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको बाह्रौँ वार्षिक साधारण सभा तथा बिजनेस म्याचिङ कार्यक्रम–२०८३ शनिबार काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। महासंघका अध्यक्ष किसान सुनारको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं प्रतिनिधि सभा सदस्य माननीय भीष्मराज आङ्देम्बे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्देम्बेले नेपाली मौलिक गहना निर्माणमा संलग्न कालीगढहरूको सीपलाई राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो:
“नेपाली सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई हाम्रो गौरवमय परम्परा र संस्कृति पनि हो। यस क्षेत्रमा देखिएका कानुनी र व्यावहारिक अड्चनहरू सुल्झाउन म संसदमा ठोस पहल गर्नेछु।”
महासंघका अध्यक्ष किसान सुनारले व्यवसायीहरूका विद्यमान समस्याहरू र महासंघको आगामी कार्यदिशाबारे प्रकाश पार्नुभयो। उहाँले कच्चा पदार्थको सहज उपलब्धता र निकासी प्रवर्द्धनका लागि सरकारले उदार नीति अवलम्बन गर्नुपर्ने माग समेत राख्नुभयो।
साधारण सभाको अवसरमा सुनचाँदी क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा:
उत्कृष्ट कालीगढ सम्मान: डम्बर रिजाल (मौलिक गरगहना निर्माणमा योगदान गरेबापत)
उत्कृष्ट महिला उद्यमी सम्मान: मनु दयाली
उत्कृष्ट संस्था सम्मान: नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्की
उत्कृष्ट प्रदेश महासंघ: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, लुम्बिनी प्रदेश
महासंघले आफ्नो सञ्जाल विस्तार गर्दै यस वर्ष विभिन्न नयाँ संस्थाहरूलाई आबद्ध गराएको छ। कार्यक्रममा ऊर्जा भेन्चर्स प्रा. लि., जय श्री कृष्ण ज्वेलर्स प्रा. लि., र जय माता दी गोल्ड प्यालेस प्रा. लि. लगायतका संस्थाहरूलाई सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
महासचिव निर बहादुर धमलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरू सुष्मा विश्वकर्मा र सरला वि.सी. ले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको समापन गर्दै प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
उद्घाटन सत्रपश्चात आयोजित बन्द सत्रमा महासंघको आन्तरिक सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजनामाथि विस्तृत छलफल भएको थियो।