१६ वैशाख, काभ्रेपलाञ्चोक — अविरल वर्षाका कारण बीपी राजमार्ग पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। सोमबार निर्माण गरिएका अस्थायी डाइभर्सनहरू मंगलबार राति रोशी खोला मा आएको बाढीले बगाएपछि राजमार्ग बन्द हुन पुगेको हो।
इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा रहेका डाइभर्सनहरू बाढीले बगाएको हो।
डाइभर्सनहरू क्षतिग्रस्त भएपछि काभ्रेपलाञ्चोकका मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीका नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड गरिएको छ।
प्रहरीका अनुसार धुलिखेलमा रोकिएका सवारी साधनलाई चरिकोट हुँदै वैकल्पिक मार्गबाट पठाइएको छ। यस्तै, मङ्गलटारमा रोकिएका चार वटा विद्युतिय सवारी (ईभी) मा सवार १६ यात्रुलाई तेमालको सडक प्रयोग गरी धुलिखेलतर्फ पठाउने तयारी भइरहेको छ।
प्रहरीले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।