तेहरान, १८ अप्रिल २०२६ इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘होर्मुज स्ट्रेट’ लाई पुनः बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी नाकाबन्दीको विरोधमा यो कदम चालिएको इरानको भनाइ छ। यसअघि अमेरिका र इरानबीचको वार्ताका क्रममा उक्त मार्ग खोल्ने सहमति भए पनि २४ घण्टा नबित्दै इरान आफ्नो निर्णयबाट पछि हटेको हो।
इरानको केन्द्रीय सैन्य कमानले शनिबार एक बयान जारी गर्दै होर्मुज जलडमरूमध्यमा पुनः ‘कडा व्यवस्थापन र नियन्त्रण’ लागू गरिएको जनाएको छ। सरकारी टेलिभिजनमार्फत जारी गरिएको बयानमा भनिएको छ:
“जबसम्म अमेरिकाले इरानी बन्दरगाहबाट आउने र जाने सबै जहाजहरूका लागि आवागमनको पूर्ण स्वतन्त्रता बहाल गर्दैन, तबसम्म होर्मुज जलडमरूमध्य सशस्त्र बलको कडा नियन्त्रणमा रहनेछ।”
इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई “समुद्री डकैती” को संज्ञा दिँदै वासिङ्टनले आफ्नो वाचा तोडेको आरोप लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी विदेशमन्त्री सैयद अब्बास अराघची दुवैले शुक्रबार होर्मुज स्ट्रेट खुला गरिएको घोषणा गरेका थिए।
विदेशमन्त्री अराघचीको उक्त निर्णयको इरानी मिडिया र IRGC निकट मानिने समाचार संस्थाहरू (फार्स र तस्निम) ले कडा आलोचना गरेका थिए।
इरानको सत्तामा IRGC को बलियो पकड रहेकाले सरकार सम्झौताको पक्षमा भए पनि सैन्य कमान्डरहरू त्यसको विपक्षमा उभिएको देखिन्छ।
इरानले अप्रिल १७ मा लेबनानमा युद्धविराम भएपछि व्यापारिक जहाजका लागि यो मार्ग खोल्ने वाचा गरेको थियो। तर, अमेरिकाले इरानी जहाजहरूमाथि नाकाबन्दी जारी राखेको भन्दै इरान पछि हटेपछि मध्यपूर्वमा तनाव पुनः उत्कर्षमा पुगेको छ।
होर्मुज जलडमरूमध्य विश्वको तेल आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण मार्ग हो। यो मार्ग बन्द हुँदा विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा गम्भीर असर पर्ने निश्चित छ। अमेरिका र इरानबीच बढ्दो यो तनावले युद्धको खतरालाई थप नजिक ल्याएको छ।