ताइपे (एजेन्सी) । ताइवानको रक्षा मन्त्रालयले आफ्नो समुद्री र हवाई क्षेत्र वरपर चीनले ठूलो संख्यामा सैन्य गतिविधि बढाएको भन्दै उच्च सतर्कता अपनाएको छ। आइतबार बिहान सार्वजनिक गरिएको जानकारी अनुसार, चिनियाँ जनमुक्ति सेनाका ८ वटा युद्धपोत र ४ वटा सरकारी जहाज ताइवानको जलक्षेत्र नजिक देखिएका छन्।
रक्षा मन्त्रालयका अनुसार दुई चिनियाँ विमानले ताइवानको दक्षिण-पूर्वी हवाई सुरक्षा क्षेत्र (ADIZ) मा प्रवेश गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ। ताइवानी सेनाले चिनियाँ गतिविधिलाई नजिकबाट नियालिरहेको र उचित जवाफ दिने तयारी अवस्थामा रहेको जनाएको छ।
यसअघि शनिबार पनि चीनले ताइवानको सीमा नजिक १७ वटा सैन्य विमान र ७ वटा नौसैनिक जहाज परिचालन गरेको थियो। तीमध्ये १५ वटा विमानले ताइवानको ‘मिडियन लाइन’ (मध्य रेखा) पार गरी उत्तरी र दक्षिण-पश्चिमी क्षेत्रमा घुसपैठ गरेका थिए।
चीन र ताइवानबीचको यो विवाद सन् १९४९ को गृहयुद्धदेखि जारी छ। बेइजिङले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेरै भए पनि मुख्य भूमिमा गाभ्ने चेतावनी दिँदै आएको छ। अर्कोतर्फ, ताइवानले आफ्नो छुट्टै सरकार, सेना र लोकतान्त्रिक पहिचान रहेको दाबी गर्दछ।
ऐतिहासिक रूपमा १६८३ देखि १८९५ सम्म ताइवान चीनको किंग राजवंशको अधीनमा थियो। पछि जापानसँगको युद्धमा पराजित भएपछि चीनले यसलाई जापानलाई सुम्पेको थियो। दोस्रो विश्वयुद्धमा जापानको हारपछि ताइवान पुनः चीनको नियन्त्रणमा आए पनि १९४९ मा कम्युनिष्ट शासन स्थापना भएपछि राष्ट्रवादी नेताहरू भागेर ताइवान पुगेका थिए। तबदेखि नै दुई देशबीच सार्वभौमिकताको लडाइँ चलिरहेको छ।
अन्तर्राष्ट्रिय कूटनीतिक हलचल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित चीन भ्रमणअघि बेइजिङले देखाएको यो सैन्य सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनले हालै ताइवानको हवाई क्षेत्र ४० दिनका लागि बन्द गर्ने घोषणा गरेपछि यस क्षेत्रमा कुनै ठूलो सैन्य कारबाही हुनसक्ने आशंकाले छिमेकी देशहरूमा त्रास बढाएको छ।