तेहरान, २६ चैत । लामो समयदेखि जारी तनावका बीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले दुई हप्ताका लागि युद्धविरामको सम्झौता भएको आधिकारिक पुष्टि गरेको छ। पाकिस्तानको मध्यस्थतामा भएको यो वार्ता सफल भएसँगै इरानले यसलाई आफ्नो ‘ठूलो ऐतिहासिक विजय’ को रूपमा व्याख्या गरेको छ।
इरानको मेहर न्युज एजेन्सीका अनुसार नयाँ सर्वोच्च नेता आयतल्लाह मोज्तवा खामेनीको स्वीकृतिमा यो युद्धविराम सम्झौता भएको हो। सम्झौता अनुसार अब स्थायी शान्तिका लागि आगामी वार्ताहरू पाकिस्तानको राजधानी इस्लामावादमा हुनेछन्।
यो वार्ता दुई हप्ताका लागि तय गरिएको छ। यदि दुवै पक्ष सहमत भएमा यसको समय थप गर्न सकिनेछ।
इरानले अमेरिकामाथि पूर्ण रूपमा अविश्वास रहेको स्पष्ट पार्दै इस्लामावाद वार्तामा सहभागी हुने बताएको छ।
यो समयमा देशमा पूर्ण राष्ट्रिय एकता कायम राख्न र विजयको उत्सवलाई थप उचाइमा पुर्याउन इरानी जनता र राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।
“हाम्रो हात अहिले पनि ट्रिगरमै छ,” विज्ञप्तिमा भनिएको छ, “यदि शत्रुले वार्ताको समयमा सामान्य गल्ती मात्र गरे पनि त्यसको कडा जवाफ दिइनेछ।”
यदि वार्ता सफल भएमा यसलाई ऐतिहासिक राजनीतिक उपलब्धिका रूपमा मनाइने र वार्ता असफल भएमा इरानी जनताको माग पूरा नहुन्जेल पुनः युद्धको मैदानमा उत्रने इरानले चेतावनी दिएको छ।
इरानले यो वार्तालाई ‘मैदानको निरन्तरता’ भन्दै आफ्ना सम्भ्रान्त वर्ग, राजनीतिक समूह र आम जनतालाई यस प्रक्रियामा पूर्ण विश्वास र समर्थन गर्न अनुरोध गरेको छ। पाकिस्तानमा हुने आगामी वार्ताले मध्यपूर्वको तनावलाई कुन दिशामा लैजान्छ भन्नेमा अहिले विश्वकै ध्यान केन्द्रित भएको छ।