‘दलित ग्लोरियस आर्ट्स’ ले उघारेको न्याय र पहिचानको नयाँ ढोका

‘दलित ग्लोरियस आर्ट्स’ ले उघारेको न्याय र पहिचानको नयाँ ढोका

  • आइतवार, पुस ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 44.5K
    SHARES

​काठमार्डाै ।  नेपाली समाजको निर्माणमा जसको रगत र पसिना बगेको छ, इतिहासको लेखनमा उही समुदाय सबैभन्दा बढी उपेक्षित छ। जसले ढुङ्गालाई आकृति दियो उही मन्दिर छिर्न पाएन, जसले सङ्गीतका धूनहरू सिर्जना गर्‍यो उही अछुत भयो, र जसले समाजको सेवामा आफ्नो सिङ्गो सभ्यता अर्पण गर्‍यो उसैले अपमानको विष पिउनुपर्‍यो। यही ऐतिहासिक र बौद्धिक अन्यायलाई चिर्दै आज राजधानीमा डा. गोविन्द सार्की नेपाली र इन्दिरा घलेद्वारा लिखित अनुसन्धानात्मक कृति “Dalits’ (Shilpees’) Glorious Arts and Artifacts Under Socio-cultural Shackles” को भव्य विमोचन गरिएको छ। यो पुस्तक केवल एउटा पुस्तक मात्र नभएर नेपाली सांस्कृतिक इतिहासको एउटा “मिसिङ लिङ्क” (हराएको कडी) हो।

​​नेपाल पर्यटन बोर्डको हलमा आयोजित समारोहमा वक्ताहरूले दलित समुदायलाई केवल ‘पीडित’ का रूपमा हेर्ने पुरानो र सङ्कुचित दृष्टिकोणलाई त्याग्नुपर्नेमा जोड दिए। शिक्षाविद् प्रा.विद्यानाथ कोइरालाले दलित समुदायलाई पौराणिक ‘विश्वकर्मा’ (सृष्टिकर्ता र वास्तुकार) को वास्तविक दर्जामा पुन: स्थापित गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो— “राजनीति र प्राज्ञिक क्षेत्रले दलितलाई सधैं गरिबी र अशिक्षाको सूचकका रूपमा मात्र देखायो, तर यो पुस्तकले उनीहरूको रचनात्मक र बौद्धिक परम्परालाई उजागर गरेको छ।”

सांस्कृतिक विद् तथा सञ्चारकर्मी डा. नवराज लम्सालले दलित समुदायभित्र रहेको ‘ज्ञानको सागर’ को चर्चा गर्दै भन्नुभयो— “प्रविधि उनैमा छ, ज्ञानको सागर तिनी, श्रम हट्यो सीप हरायो लौ भन तिनी”। उहाँले शिल्पीहरूको योगदान बिना नेपाली सभ्यताको जग नै अधुरो रहने यथार्थ पस्कनुभयो।

​लेखक डा. गोविन्द नेपालीले आफ्नो ३५ वर्ष लामो अनुसन्धान, स्थलगत भ्रमण र आर्काइभ कार्यको निचोड यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ। यो कुनै सतही लेखन होइन। नेपालका हिमाल, पहाड र तराईका कुनाकाप्चा पुगेर २३७ जना मुख्य स्रोत व्यक्तिहरू (Informants) सँगको प्रत्यक्ष संवाद र पुरातात्विक अवलोकनका आधारमा यो कृति तयार भएको हो।

​१० वटा मुख्य थिमेटिक खण्डमा विभाजित यस पुस्तकले दलित समुदायका कलालाई वैज्ञानिक दृष्टिकोणले व्याख्या गरेको छ। यसमा घरायसी भाँडाकुँडा, कृषि औजार, संगीत, धार्मिक अनुष्ठानका सामग्री र धातु शिल्पलाई आधुनिक प्रविधिसँग तुलना गरिएको छ।

​पुस्तकले एउटा गम्भीर प्रश्न उठाएको छ— किन दलितका सिर्जनालाई ‘राष्ट्रिय सम्पदा’ मानिएन ? समाजले दलितले बनाएका सामग्री स्वीकार गर्‍यो, तर ती सामग्री बनाउने हातहरूलाई ‘अछुत’ भनियो। उनीहरूभित्र रहेको गहिरो इन्जिनियरिङ ज्ञान र व्यवस्थापकीय क्षमतालाई राज्यले नियतवश ओझेलमा पार्‍यो। आरनको प्रविधि, छालाको प्रशोधन र धातुको कामलाई वैज्ञानिक खोजको रूपमा कहिल्यै मान्यता दिइएन, जसले गर्दा आज ती मौलिक सीपहरू बिस्तारै हराउँदै गएका छन्।

​सह-लेखिका इन्दिरा घलेका अनुसार यो पुस्तकले दलित समुदायलाई केवल ‘अनुसन्धानको पात्र’ मात्र नबनाई उनीहरूलाई ‘ज्ञानको स्रोत’ (Knowledge Holders) को रूपमा स्थापित गरेको छ। पुस्तकको अर्को सबल पक्ष यसमा समावेश सयौँ दुर्लभ तस्बिरहरू हुन्। डा. नेपालीले व्यक्तिगत रूपमा सङ्ग्रह गरेका दुर्लभ औजार र कलाकृतिहरूले पाठकलाई एउटा जीवन्त संग्रहालयको भ्रमण गराउँछन्।

​समारोहमा हुड्के कलाकार र मगर नाचको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मौलिक मात्रै बनाएन, जसले कला र संस्कृतिको धनी यो समुदायलाई उचित सम्मानको खाँचो रहेको प्रस्ट्याउँथ्यो। डा. गोविन्द सार्की नेपालीको यो ३५ वर्षको तपस्याले एउटा बलियो सन्देश दिएको छ,- अब दलित समुदायलाई दयाको दृष्टिले होइन, सम्मान र अधिकारको दृष्टिले हेरिनुपर्छ।

​यो पुस्तक नेपाली वाङ्मय, समाजशास्त्र र विज्ञानका विद्यार्थीका लागि एउटा अनिवार्य पाठ्यसामग्री मात्र नभएर एउटा नयाँ बौद्धिक क्रान्तिको सुरुवात हो। ​यो पुस्तक दलित समुदायका लागि मात्र होइन, नेपाली इतिहास र समाजशास्त्र बुझ्न चाहने जोसुकैका लागि अनिवार्य छ।

दलित समुदायको सीपलाई राज्यले मूल्यांकन नगरेको र उनीहरूको कला बिस्तारै लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै पुस्तकमा ​दलित समुदायको पहिचान र आत्मसम्मानहुनुपर्ने कुरामा जोड दिईएको छ । लोप हुन लागेका मौलिक प्रविधिहरूलाई लिपिबद्ध गरी भावी पुस्तामाझ पुर्‍याउनु यसको मुख्य ध्येय भएको भन्दै लेखकद्धयले यसलाई अन्तराष्ट्रियस्तरमा पुर्याउन अग्रेजी भाषलाई छनौट गरिएको समेत प्रष्ट्याए । जसको कलाले देश सजियो, अब उसैको शिर उच्च राख्न राज्य र समाजले पहलकदमी लिनपर्छ भन्ने आवाज उठिरहेकोबेला यो कृतिले नीति निर्माण तहमा पनि एउटा ठूलो हलचल पैदा गर्ने विश्वास गर्न सकिने कार्यक्रममा सहभागीहरुको धारणा थियो ।

कार्यक्रमको अध्यक्षता संस्कृतिविद् रामकृष्ण वुडथापा र सञ्चालन सञ्चारकर्मी सृजना तिम्सिना ले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि संस्कृती विद् डा.विना पोडेल कोशी प्रदेशका प्रदेश सभा सदस्य मा. इन्द्रमणि पराजुली, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अरुणा हिङमाङ पुर्व राजदुत पदम सुन्दास, अनुसन्धानदाता डा.सुनिता शर्मा लगाएतको आतिथ्यताका एवं सम्बोधन र अन्य विशिष्ट महानुभावहरुको सहभागिता रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी