काठमाडौं । रसुवाको भोटेकोशीमा उर्लिएर आएको विनाशकारी बाढीले गाउँ नै तहसनहस बनाएको क्षण धेरैका लागि सम्झिँदा पनि आङ सिङ्ग्रिङ्ग हुने खालको थियो। बाढीले घरबार, सपना र सम्पत्ति एकाएक लेदोमा मिसाइदियो। तर, त्यही कहालीलाग्दो विपद् र रोदनका बीच आशा र मानवताको एउटा बलियो चित्र काेर्दै युवाहरूको टोली आफ्नै ज्यान जोखिममा राखेर उद्धार र सरसफाइमा जुटिरहेको थियो।
बाढी आएकै दिनदेखि प्रभावित क्षेत्रमा पुगेको योङ कम्युनिस्ट लिग (वाइसिएल) को उद्धार टोलीले निरन्तरको मिहिनेत र श्रमदानमार्फत गाउँको स्वरूप फेर्न कोसिस गरिरहेको छ। बाढी आएकै दिनदेखि प्रभावित क्षेत्रमा पुगेको वाइसिएल टोलीले घाइते तथा विस्थापितहरूको उद्धार, राहत वितरण र वैकल्पिक मार्ग खोजी लगायतका कार्यलाई तीव्र पारेको छ।
प्रतिकूल अवस्थाका बाबजुद उद्धार तथा सरसफाइ अभियान चलाइरहेको टोलीले भग्नावशेषमा भेटिएका करिब ५० तोला सुन, ७० तोला चाँदी, ल्यापटप र नगदसहितका महत्त्वपूर्ण सामग्रीहरू सम्बन्धित धनीलाई सुरक्षित रूपमा हस्तान्तरण गरेको छ।
वाइसिएलले विस्थापित तथा घाइतेहरूलाई सुरक्षित होल्डिङ सेन्टरमा पुर्याउने, खाना खुवाउने र थप उपचारका लागि काठमाडौँसम्म लैजाने व्यवस्था मिलाएको छ। साथै घाइतेहरूको उपचारका लागि रगतको अभाव हुन नदिन संगठनको प्रदेश र केन्द्रको समन्वयमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ।
यातायात अवरुद्ध भएको अवस्थामा त्रिशूलीपारि कोलनी, तुप्चे र बेत्रावती क्षेत्र तथा रसुवा जोड्न लच्याङ, सरमथली, कालिकास्थान हुँदै धुप्चे वैकल्पिक सडकको खोजी गरी सञ्चालनमा ल्याउन पहल गरिएको छ।
विभिन्न संघ-संस्थाहरूसँग समन्वय गरी विदुर, कोलनी, जुगेटार, आगुटार, तुप्चेलगायतका क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको वाइसिएलले जनाएको छ। आगामी दिनमा खोज, उद्धार र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र पीडितहरूसँग समन्वय गरी देशैभरिका वाइसिएल कार्यकर्ता परिचालन गरिने भएको छ।
