रूस-युक्रेन युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदे प्रस्ताव पछि युक्रेनका राष्ट्रपति संकटमा परेका छन् ।
उनले अमेरीकी प्रस्ताव स्वीकार नगरे अहिले सम्मको युद्धमा अमेरीकाको साथ रहेको त्यो गुम्ने छ । त्इसो गर्दा सिंगो युक्रेनको भविष्य जोखिममा पर्ने छ । स्वीकार नगर्दा उनले रुसले कब्जा गरेको भुभाग गुमाउने देखि नेटोमा सामेल हुन नपाउने लगायतका शर्तहरुले उनको स्वाभिमान गुम्ने बुझाई छ ।
रूसले भन्दै आएको मुख्य विषय युद्धपछि रूसी कब्जामा परेका भूभागहरुमा दाबी छाड्नुपर्ने र युक्रेनी सेनाको आकार घटाउनुपर्ने सर्त ट्रम्पले तयार पारेको प्रस्तावमा समेटिएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि नै सार्वजनिक गरिसरकेका छन्।
योजनाका मुख्य बुँदाहरू युक्रेन पूर्वका केही भूभागबाट फिर्ता हुनुपर्ने, युक्रेनलाई नेटो प्रवेशमा स्थायी निषेध, युक्रेनी सेनामा ६ लाखको सीमा, रुसमाथिको प्रतिबन्ध क्रमशः हटाइने, रुसलाई जी-८ मा फिर्ता बोलाइने, फ्रिज गरिएका रूसी सम्पत्ति संयुक्त लगानी कोषमा रूपान्तरण लगायत रहेका छन्।
यो प्रस्ताव ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग परामर्श गरेर बनाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। ती २८ बुँदामा त्यस्ता प्रस्तावहरू छन् जुन विषयमा युक्रेनले युद्धविराम पहल भएको सुरूवाती चरणदेखि नै अस्वीकार गर्दै आएको छ।
युक्रेनसँगै उसका युरोपेली सहयोगीहरुले पनि यसलाई युक्रेनको सार्वभौम अधिकारको विरूद्धका प्रस्ताव भन्दै आएका छन्। रूससँगको युद्धमा युक्रेनको सबैभन्दा ठूलो सहयोगी मुलुक हो अमेरिका। उसले अरबौं डलर युक्रेनलाई सहयोग गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले दबाब दिएपछि जेलेन्स्कीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरे।
उनले राष्ट्रपति कार्यालयको अघिल्लो भागको सडकमा उभिएर देशवासीको नाममा सम्बोधन गरेका थिए। रोयटर्सका अनुसार जेलेन्स्कीले कुनै खास विषयमा सम्बोधन गर्नुपरेको खण्डमा त्यो ठाउँ प्रयोग गर्छन्।
सम्बोधनको सुरूवातमै उनले युक्रेनको स्वाभिमान र आत्मसम्मानको विषयमा कहिल्यै धोका नदिने बताउँदै परिस्थिति गम्भीर भएकाले सबै जनतालाई एकताबद्ध हुन आह्वान गरे। उनले यतिबेला आफू इतिहासकै कठिनमध्यको अवस्थामा भएको बताए।
‘युक्रेन अहिले असाध्यै गम्भीर परिस्थितिमा छ। अहिले महत्त्वपूर्ण दुई विषयबाट एउटा छान्नुपर्ने अवस्था आएको छ। या स्वाभिमान गुमाउनुपर्ने वा हाम्रो सबैभन्दा महत्त्वपूर्ण साझेदार गुमाउने जोखिम लिनुपर्नेभो,’ उनले भने।
ती २८ बुँदामा सहमति गर्नका लागि अमेरिकाले जेलेन्स्कीलाई एक साताको समय दिएको छ। स्वीकार नगरे गुप्तचर सहयोगदेखि हतियार आपूर्ति रोकिने चेतावनी दिएको भनेर रोयटर्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ।
ह्वाइट हाउसले भने यसबारे तत्काल प्रतिक्रिया दिएको छैन। जेलेन्स्कीलाई ट्रम्पको प्रस्तावमा मनाउनका लागि अमेरिकी अधिकारीहरू बिहीबारदेखि किभमा छन्। उनीहरूसँग भेटेपछि जेलेन्स्कीले बेलायत, जर्मनी र फ्रान्सका सरकार प्रमुखहरूसँग टेलिफोन कुराकानी पनि गरेका थिए।
अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग पनि जेलेन्स्कीले कुरा गरेका थिए। शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रमम अमेरिकी प्रस्तावबारे बोल्दा जेलेन्स्की निकै सावधान देखिएका थिए। उनले त्यस क्रममा न शान्ति योजना अस्वीकार गरे, न त अमेरिकालाई असन्तुष्ट पार्ने भाषा प्रयोग गरे।
‘हामी अमेरिकाको प्रयासको कदर गर्छौं। यो योजना वास्तविक र सम्मानजनक शान्ति सुनिश्चित गर्ने खालको हुनुपर्छ,’ उनले भने। शान्ति योजनमा उल्लिखित बुँदाहरू तयार पार्दा ट्रम्पले युरोपेली नेताहरूसँग पनि परामर्श गरेका थिएनन्।
युक्रेनलाई युद्धमा सहायता गर्दै आएका युरोपेली नेताहरू ट्रम्पको प्रस्ताव सार्वजनिक भएपछि किभको पक्षमा खुलेर उभिएका छन्।