उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविर सम्पन्न, ६२९ जना लाभान्वित

उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविर सम्पन्न, ६२९ जना लाभान्वित

  • बुधबार, भदौ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

मुस्ताङ, ११ भदौ : उपल्लो मुस्ताङको दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ती शिविर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा इलाका प्रशासन कार्यालय लोमान्थाङ र सम्बधित स्थानीय तहको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङका नागरिकलाई घरदैलोमै पुगेर सेवा पुर्‍याउने गरी राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरिएको हो ।

उत्तर चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङका नागरिकलाई सदरमुकाम जोमसोमसम्म धाएर राष्ट्रिय परिचयपत्र दर्ता गर्न समस्या हुने भएकाले त्यहाँका स्थानीय नागरिकलाई लक्षित गरी घरदैलौमै सेवा प्रवाह गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकार नन्दराम परियारले जानकारी दिनुभयो ।

यहाँ जिल्ला प्रशासन कार्यालय जोमसोमबाट उपल्लो मुस्ताङका सीमावर्ती पालिकामा पुग्न झण्डै १०० किलोमिटर दूरी पर्ने भएको र सानो काममा धेरै खर्च र समय लाग्ने भएकाले उनीहरूको सहजताका लागि स्थानीयस्तरमै पुगेर जिल्ला प्रशासन कार्यालयको घुम्ती टोलीले शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित घुम्ती राष्ट्रिय परिचयपत्र घुम्ती दर्ता शिविर भदौ ३ गतेदेखि ११ गतेसम्म कायम रहेको थियो । शिविरमा दर्ता गर्न आउने नागरिकका लागि फोटो खिचाउने, बायोमेट्रिक विवरण तथा नामाङ्कन विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता गर्नेलगायत कार्य सम्पन्न भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र दर्ता शिविर चलाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारको नेतृत्वमा कम्प्युटर अपरेटर बुद्धिरत्न थकाली, नायब सुब्बा देवेन्द्र थापामगर र लेखापाल प्रकाश नेपालीसहित चार जना कर्मचारी उपल्लो मुस्ताङ पुगेका थिए । त्यहाँ इलाका प्रशासन कार्यालयका कर्मचारी र सम्बन्धित स्थानीय तहका कर्मचारीले शिविर सञ्चालनमा सहयोग पुर्‍याएका थिए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको तीन स्थानमा र लोमान्थाङ गाउँपालिकाको एक स्थानमा गरी चार स्थानमा त्यहाँका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, बालबालिकालगायत सामाजिक सुरक्षा भत्ता नपाउने नागरिकलाई विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्रको निमित्त दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले उल्लेख गर्नुभयो ।

उपल्लो मुस्ताङमा आयोजित एकहप्ते राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा ५२९ जना प्रत्यक्ष लाभान्वित भएका छन् । यहाँको लोघेकर दामोदरकुण्डमा १८९ जना र लामान्थाङ गाउँपालिकामा ३४० जनाको राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता विवरण सङ्कलन भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोघेकरको वडा नं ३ घिलिङमा १५ जना, वडा नं २ घमीमा ५१ जना र वडा नं १ चराङ केन्द्रमा १५३ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएको छ ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बैंक खाता खोल्न र विदेश जानका लागि राहदानी (पासपोर्ट) बनाउन र प्रशासनिक कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले राष्ट्रिय परिचयपत्र लिनका लागि दर्ता गर्नेको सङ्ख्या उल्लेख वृद्धि भएको हो । प्रशासनबाट खटिएको राष्ट्रिय परिचयपत्र घुम्ती शिविर टोलीले त्यहाँ सेवाग्राहीलाई घरदैलामै पुगेर अफलाइन दर्ता गराएको हो । दर्ता भएका सेवाग्राहीका लागि जोमसोममा अनलाइन दर्ता गरेपछि मात्रै राष्ट्रिय परिचपत्र दर्ता नं उपलब्ध गराइने कम्प्युटर अपरेट बुद्धिरत्न थकालीले जानकारी दिनुभयो ।

नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले स्थानीय नागरिकको सेवाका लागि प्रशासनबाट खटिएको घुम्ती शिविरले निकै ठूलो राहत पुगेको उल्लेख गर्नुभयो । यहाँबाट जोमसोम आवतजावत गर्दा दुई दिनको समय लाग्ने र खर्च पनि प्रतिव्यक्ति पाँच हजार बढी हुने भएकाले यसप्रकार सेवाप्रवाहले नागरिकको समस्यामा प्रशासनबाट सम्बोधन भएको सुनाउनुभयो ।

यसअघि गत वैशाखको तेस्रो हप्तामा पनि जिल्ला प्रशासन कार्यालय मुस्ताङले राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गरेको थियो । त्यसबेला उपल्लो मुस्ताङबाट जोमसाम आएर राष्ट्रियपत्रका लागि नामाङ्कन विवरण, बायोमेट्रिक र फोटो खिचेर गएका सेवाग्राहीलाई प्रशासनको राष्ट्रिय परिचयपत्र शाखाले घरदैलोमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको शाखाका कम्प्युटर अपरेटर थकालीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी