खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

  • शनिबार, साउन १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

खोटाङ, १७ साउन : ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो ।

कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईलगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।

प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर बिस्कुटसँगै कोदोबाट बनाइएका खाद्य परिकारहरू प्रदर्शनी गरिएको छ । कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरिएको शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिनुभयो । “कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यावसायिक रूपमा ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरू गरेका छौँ । यो आजैबाट बजारमा पठाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “शुभम् फाउण्डेशनमा कोदोको अन्य परिकारहरू पनि उत्पादन हुन्छ । त्यो चाँही उपभोक्ताको मागअनुसार बनाएर उपलब्ध गराउने तयारी गरिएको छ ।”

जिल्लामा उत्पादित कोदो शुभम् फाउण्डेशनले सञ्चालन गरेको उद्योगमा खपत हुने भएपछि कृषकहरूले समेत सहजै आम्दानी लिन सक्ने भएका छन् । शुभम् फाउण्डेशनले व्यावसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रवद्र्धन गर्न सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख राईले बताउनुभयो । “स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सकेमात्र समृद्ध बन्न सकिन्छ । शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “परम्परागत रूपमा उपभोग गर्दै आइएको कादोलाई आधुनिकीकरण गर्न आवश्यक छ । शुभम् फाउण्डेशनले यो कामको थालनी गरेको छ । यसलाई प्रवद्र्धन गर्न सबैले सहयोग गर्नुपर्छ ।”

रैथाने बाली संरक्षण तथा प्रवद्र्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औँ नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागू गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले जानकारी दिनुभयो । “नगरवासीको आम्दानी वृद्धि गर्न उपप्रमुखसँग कृषक कार्यक्रम लागू गरेका छौँ । यो कार्यक्रमले धेरै कषकहरू व्यवसायिक बनेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सङ्घीय कानुन बाधक छ । यसलाई संशोधन गरेर कार्यान्वयन गराउन नगरप्रमुखको नेतृत्वमा आन्दोलनसमेत गरिरहेका छौँ ।”

शुभम् फाउण्डेशनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने/गराउने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ । कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसर पारेर नगरपालिकाले कोदोको उपयोगिताका विषयमा वत्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलकी विपासा खनाल पहिलो, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका प्रताप खत्री दोस्रो, शितला माध्यमिक विद्यालय खाल्लेकी प्रनिशा राई तेस्रो तथा जालपा माध्यमिक विद्यालय जालपाका प्रज्ज्वल खड्का सान्त्वना हुनुभएको छ ।

वत्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगी विद्यार्थीलाई क्रमशः नगद रु दुई हजार ५००, रु दुई हजार २५०, रु दुई हजार र रु एक हजार ७५० प्रदान गरिएको छ । कार्यक्रममा उत्पादनमा आधारित व्यावसायिक खेती गर्ने कृषकलाई नगदसहित पुरस्कारसमेत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी