जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिढी अत्यन्त प्रतिभाशाली रहेको बताएका छन्।
आज जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रमा राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले बालबालिकाहरूमा प्रचूर सम्भावना देखेको बताए।
सो अवसरमा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले ८६ जना विद्यार्थीलाई दीक्षित गरेका थिए। स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताको लागि आवेदन दिएका थिए। त्यसैगरी विश्वविद्यालयका चार जना टपर, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०÷१० विद्यार्थीलाई गोल्ड मेडलसमेत प्रदान गरिएको छ।
सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई पदक प्रदान गरिएको हो। २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गर्नेमा रश्मीकुमारी भएकी छन्।
विश्वविद्यालयका सहकुलपतिका रूपमा रहेका मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेसका छोरीहरू शैक्षिक क्षेत्रमा अब्बल रहेको कुरा यसै दीक्षान्त समारोहबाट पनि प्रष्ट भएको बताए। ’