काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सिपवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालय तह देखिनै बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
सो क्रममा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्व विद्यार्थी एवम् विद्यालयमा योगदान पुर्याउनेहरूलाई सम्मान गरेका थिए ।