काठमाडौं, ४ बैशाख । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्।
‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ ।
चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ हुन थालेपछि सुन तस्करीका लागि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन् ।