यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह

यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह

  • बिहिबार, जेष्ठ १, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, १ जेठ । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो।

बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ मसेल घर भई तारकेश्वर नगरपालिका–२ देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुर कैलाश गाउँपालिका–२ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री र ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २८ वर्षीय निर्मल खड्का रहेका छन्।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार बयलकोटी गिरोहका मुख्य नाइके हुन्। खत्री र खड्का उनका सहयोगी रहेको बस्नेतले बताए।

उनीहरूले विभिन्न सरकारी, शैक्षिक संस्थाबाट जारी हुने शैक्षिक प्रमाण पत्र, मार्कलिष्टलगायत नम्कली बनाउने गरेका थिए। उनीहरूले गैरसरकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक पार्टीलगायतको लेटरप्याड र छाप बनाउने गरेका थिए।

त्रिभुवन विश्वविद्यालयको विभिन्न तहको सर्टिफिकेटसमेत उनीहरूले बनाउने गरेको भेटिएको छ। ‘जग्गा धनीपूर्जा, सवारी चालक अनुमति पत्र, स्थानीय तहको सिफारिस पत्र, राजनीतिक पार्टीको लेटर प्याड, बैंकहरूको स्टेटमेन्ट, मेडिकल रिपोर्ट, बिहे दर्ताको प्रमाण पत्र लगायत नक्कली बनाउने गरेको खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पत्रकार सम्मेलनमा भने।

बयलकोटी विगत सात वर्षदेखि तारकेश्वरमा कोठा भाडामा लिएर नक्कली प्रमाण पत्र बनाउन सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले नक्कली कागजात इडिट तथा डिजाइन गर्न खत्री र खड्कालाई तलब दिएर राखेका थिए।

’१० हजारदेखि १५ हजारसम्म मासिक तलब दिएर काममा लगाएको पाइएको छ,’ बस्नेतले भने। उनीहरूले जापानमा विद्यार्थी भिषामा जाने व्यक्तिहरूको लागि सहकारी संस्थाको स्टेटमेन्ट बनाएर कुरियर गरी जापान पठाउने गरेका थिए।

यस्तै, डिपेन्डेन्ट भिसा प्रयोजनका लागि ‘म्यारिज सर्टिफिकेट’ बनाउने काम पनि उनीहरूले गर्थे। ‘वर्किङ भिषामा जापान जानेहरूको विभिन्न तहको शैक्षिक प्रमाण पत्र बनाउने गरेको भेटिएको छ,’ आचार्यले भने।

यसैगरी, उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूको पिआर तथा ग्रीन कार्ड एप्लाई गर्नको लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल र वीर अस्पताललगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेका थिए।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले माइग्रेसन सर्टिफिकेट ४२ थान, क्यारेक्टर सर्टिफिकेट ६० थान, एकेडेमिक ट्रान्सक्रिप्ट ११० थान, म्यारिज रजिष्ट्रेसन सर्टिभिकेट ५ थान, प्रोभिजनल सर्टिफिकेट ५० थान बरामद भएको छ।

यस्तै, जग्गा धनी प्रमाण पुर्जा १०, सहकारी संस्थाको लेटरप्याड १७, वार्षिक आम्दानीको विवरण ७ थान, लेमिनेसन मेसिन १, हिटिङ मेसिन २, डाई कटर १, सहकारी संस्थाको स्टेटमेन्ट १७, विभिन्न स्थास्थ्यको सिफारिस २, बैंकहरूको स्टेटमेन्ट १०० पाना, स्थानीयको तहको सिफारिस पत्र २०, विभिन्न सरकारी, गैरसरकारी, संघ(संस्था, पार्टी कार्यालयको छाप तथा व्यक्तिगत दस्तखतलगायतका स्ट्याम्प प्याड ३५५ थान बरामद भएको आचार्यले बताए।

यसैगरी, मनिटर २ थान, सिपियु २ थान, माउस २ थान, प्रिन्टर ३ थान, खाली स्ट्याम्प १५०, स्ट्याम्प मेसिन १, मोबाइल ७ र अस्पतालका मेडिकल कार्ड २ थान बरामद भएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी