काठमाडौं । प्रधानमन्त्री र रभामुखसँग राति सम्म छलफल गरेपनि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन् ।
हिजो साँझ प्रधानमन्त्री ओलीसँग बालुवटारमा दुई घण्टा छलफल गरेका शिक्षक महासंघका पदाधीकारीले मध्यराति सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए ।
विद्यालय शिक्षा ऐन र आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पबारे छलफल गरेलगत्तै सभामुख घिमिरेसँग पनि छलफल भएको थियो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे प्रधामन्त्री र सभामुखसँग छलफल भएको जानकारी दिए। भेटपश्चात उनले भने, ‘करिब २ घण्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग, मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रष्ट पारियो। प्रधानमन्त्रीज्युले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो।’
सुवेदीले विषय टुंगो नलागेको भन्दै आन्दोलन जारी रहेको जानकारी दिए ।
छलफलमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए। विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने मागसहित महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ। प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागहरूबारे गृहकार्य गर्न भन्दै चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिए ।
यसकै लागि सरकारले संघीय संसद्को अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बोलाउने निर्णय गरेको छ । यसको उद्देश्य विद्यालय शिक्षा विधेयक पारित गर्नु रहेको छ ।