२० फागुन काठमाडौँ। नेपाल वन प्राविधिक संघ (एनएफए) ले स्थापनाको ५० औं वाषिकोत्सव भव्य रुपमा मनाएको छ । ‘वन, वन्यजन्तु र जलाधार: पेशागत ऐक्यबद्धता समृद्धिको आधार’ नाराका साथ मंगलवार ललितपुरमा आयोजित स्वर्ण महोत्सवमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन क्षेत्रमा उद्यमशीलता विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालको वन संरक्षण र दिगो उपयोगमा वन प्रविधिको भूमिका रहेको उल्लेख गर्दै थप वन क्षेत्रको विकासका लागि अझै अगाडि बढ्नुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनको प्रभाव, वनजन्य स्रोतकोे दिगो उपयोग, पारिस्थितिकिय प्रणालीको संरक्षणमा सङ्घको भूमिका छ । पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएका छन्,” उहाँले भन्नुभयो, “वन क्षेत्रको संरक्षण सम्वर्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ । नीतिगत सुधार, नविन प्रविधिको प्रयोग गर्दै नेपालको हरियो वन नेपालको धन बनाउन सकेमा मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने छ ।”
वन तथा वातावरण संरक्षणसम्बन्धि जनताको चेतना बढाइ वातावरणमा पर्न सक्ने क्षतिको असर न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ थियो ।

“पछिल्लो समय तराई मधेशमा पानीको मुहान सुक्दै गइरहेका छन् । यसले गर्दा तराई मधेश मरुभूमि अवस्थामा पुग्न सक्छ । समस्या समाधानका लागि सङ्घले आवश्यक योजना बनाउन सरकारलाई सुझाव दिन जरुरी छ,” उहाँले भन्नुभयो ।
वन तथा वातावरण क्षेत्रको अध्ययन र अनुसन्धान गर्ने वन प्राविधिकको पेसागत सुरक्षा गर्दै एनएफएले सरोकारवालाबिच जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिनुभयो ।
“वन व्यवस्थापनको लक्ष्य हासिल गर्नुपर्छ । यसका लागि सहकार्य र समन्वय आवश्यक छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमको अन्त्यमा उपराष्ट्रपति यादवले स्वर्ण महोत्सवको अवसरमा पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै प्राविधि संघसहित सबैले वनको संरक्षण, प्रवद्र्धन र विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले विमोचित ‘स्वर्ण स्मारिका’लाई नेपाल वन प्राविधिक संघको ऐतिहासिक योगदान, भविष्यका सम्भावना र प्राविधिक ज्ञानको अभिलेख बन्न सक्ने विश्वास व्यक्त गर्दै स्वर्ण महोत्सवको सफलता र संघको उत्तरोत्तर प्रगतिका लागि कामना गर्नुभयो ।

यस्तै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको विकास र संक्षरण तथा सम्वर्धन गर्दै वनबाट रोजगारी बढाउन वन प्राविधिकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
“वन क्षेत्रको विकास बढिरहँदा मानव र वन्यजन्तुबिचको द्वन्द्व बढिरहेको छ । पछिल्लो सयम जलवायु परिवर्तनको असरसमेत बढिरहेको छ । यी समस्या न्यूनीकरणका लागि सहकार्य जरुरी छ”, उहाँले भन्नुभयो, “नेपाल वन प्राविधिक परिषद् बनाउने प्रक्रिया छिट्टै अगाडि बढ्ने छ ।”
एनएफएका अध्यक्ष राकेश कर्णले वन क्षेत्रको संरक्षण र सम्वर्धन गर्दै, दिगो उपयोग तथा वन प्राविधिकको पेसागत सुरक्षा कायम राख्न एनएफएको भूमिका रहने बताउनुभयो ।
अन्तर्राष्ट्रिय रेन्जर महासङ्घको तर्फबाट एसियाका उपाध्यक्ष माधव खड्काले एनएफएको स्वर्ण महत्सवको अवसरमा शुभकामना दिनुभयो । सो अवसरमा संस्थापक सदस्य तथा संस्थाको हकहितमा काम गर्ने कपिल चित्रकार, मनमोहनध्वज जोशी, केशरमान बज्राचार्य, रिषि बहादुर प्रधान, राजन रेग्मीलगायतलाई सम्मान गरिएको थियो ।

सोहि अवसरमा सामुदायिक वन तथा वैज्ञानिक वन व्यवस्थापनको शुरुवातकर्ता क्रमशाः वन प्राविधिक डा. तेज बहादुर सिंह महत र विजयराज सुवेदीलाई पनि सम्मान गरिएको थियो । नेपालमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन लागू गर्नुभएका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख सुवेदीलाई वैज्ञानिक प्रणालीमार्फत वन व्यवस्थापन गर्दा सुशासनसँगै वन क्षेत्रको विकासमा टेवा पुर्याउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एनएफएले सम्मान गरेको हो ।
वि.सं २०६६ सालमा कपिलवस्तुको तिलौराकोट साझेदारी वनको बन सम्बर्धन प्रणालीमा आधारीत बन व्यवस्थापन कार्ययोजना लागू भएपछि वैज्ञानिक बन व्यवस्थापनको शुरुवात भएको थियो । यसका शुरुवात तात्कालिन जिल्ला बन कार्यलय कपिलबस्तुमा सहायक बन अधिकृत रहदा सुवेदीले नै गर्नुभएको थियो । वैज्ञानिक वन व्यवस्थापन प्रति उपभोक्ताहरु पनि उत्साहित देखिन्छन् । धेरै सामुदायिक वनहरुमा यो कार्यक्रम लागु भएको र उल्लेख्य मात्रामा काठ, दाउरा उत्पादन भएको छ ।
सामुदायिक वनको शुरुवात भने २०४६ सालमा सिन्धुपालचोकमा महतले गर्नु भएको थियो ।
नेपाल वन प्राविधिक संघको स्थापना २०३१ साल असोज १७ गते भएको थियो । ६८ सदस्यबाट शुरु भएको नेपाल वन प्राविधिक संघमा हाल चार हजार बढी सदस्य छन् ।






















