बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदाले पढेकी थिइन् कानुन

बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदाले पढेकी थिइन् कानुन

  • शुक्रबार, फाल्गुन १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १६ फागुन ।

बुवालाई राजा महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदा श्रेष्ठले पढेकी थिइन् कानुन । राजा महेन्द्रका पालामा आफ्नो बुवालाई अराष्ट्रिय तत्व भनेर जेल हालेपछि अदालतबाट छुटाउनकै निम्ति कानुन विषय पढेकी शारदाले नेपालको इतिहासमा आफ्नो नाम पहिलो महिला न्यायाधीशको रुपमा लेखाईन् ।

तीनै नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठ सदाका लागि अस्ताईन् ।

श्रेष्ठको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

५८ वर्ष पहिले नै महिलाका लागि अदालतको ढोका खोल्ने शारदा ललितपुर पाटनको महर्जन परिवारमा जन्मिइन्। उनका बुवा कृष्णनरसिंह श्री ३ जुद्धशमशेरको शासनकालमा ऐन सवालसमेत हेर्ने खरदार पदमा थिए।

तर, २००७ सालको परिवर्तनपछि उनको दुःखका दिन सुरु भएका थिए। व्यवस्था बदलिएको थियो। राणाहरूका लागि काम गरेका उनी नयाँ शासकहरूको निसानामा पर्न पुगे ।

‘नयाँ प्रजातान्त्रिक व्यवस्थालाई असफल तुल्याउन ‘खुकुरी दल’ ले काठमाडौँमा आतंक मच्चाउन थाल्यो। त्यसबाट सुरक्षाका लागि २००८ मा टोलटोलमा ‘रक्षा मण्डल’ गठन गरियो।

कृष्णनरसिंहको मातहतमा एक मण्डली थियो। त्यस मण्डलीमा खटिएका मानिसहरू रातभरि सुरक्षाका लागि तैनाथ रहन्थे। सबैतिर खतरा सकिएको आभास भएपछि मात्र उनीहरू आफ्नो बाटो लाग्थे,’ शारदाल एक अन्तरवार्तामा सम्झना गर्दै भनेकी छिन् ।

२०१८ सालमा शारदा बीएस्सीको परीक्षा दिएर बसेकी थिइन्। उनका बुवा सामेल रहेको ‘रक्षा मण्डल’लाई ‘अराष्ट्रिय तत्व’ घोषित गरियो। किनभने अघिल्लो वर्ष नै राजा महेन्द्रले व्यवस्था उल्ट्याएर दलहरूमाथि प्रतिबन्ध लगाइसकेका थिए। उनका बुवालाई पनि जेल सजाय सुनाइयो। कसुर र सजाय पनि स्पष्ट थिएन।

‘रोगले थलिनुभएको बुवा। जेलमा हुने यातना। त्यतिमात्र हैन घरमा लेख्न र पढ्न जान्ने जति सबैलाई अनुसन्धानको घेरामा राखियो,।

शारदाले दिदीको साथ लागेर बुवालाई छुटाउने थुप्रै प्रयत्न गरिन्। सकिनन्। बुवालाई राम्रो मान्नेका ढोकामा पनि पुगिन्। नराम्रो मान्नेहरूसँग पनि हात जोडिन्। महेन्द्र सरकारलाई भेट्न दौड लगाईन् अनी दर्जनौ पत्र पठाएर विन्तिभाउ चडाईन् तर उनको केही लागेन।

मुद्दाको फैसला समेत उनको हातमा परेन। छोरीलाई फैसला नदिने भनेर रित्तो हात फर्किन विवश पारियो।

‘भारी बोक्दा दुखेको घाउ कहिलेकाहीँ भरियाले देउरालीलाई पनि सुनाउँदैन। अरुलाई नसुनाउनु भनेको आफू नदुख्नु होइन। दुःख नबाँड्नु मात्रै हो। मेरो नियति त्यस्तै थियो,’ उनले भन्ने गरेकी थिईन् ‘म भित्रभित्रै दुखेको थिएँ। बुवाको त्यो निराश अनुहारले मलाई डाक्टरको सपना त्यागेर कानुनमा लाग्न बाध्य गरायो र लागेँ पनि।’

शारदाले साइन्स पढ्न छोडिन्। डाक्टर बन्ने सपना त्यागिन् र कानुन पढ्न थालिन्। कानुन पढ्दै जाँदा शारदाले थाहा पाइन्, ‘नेपालमा कानुनको धेरै दुरुपयोग भएको रहेछ।’

शारदा बीएल भर्ना हुँदा महिलाको संख्या ६ जना थियो। परीक्षामा भने ३ जना माात्रै सामेल भए। ३ जनामध्ये फस्र्ट पार्टमा उत्तीर्ण हुने शारदा मात्रै भइन्। शारदालाई पढेर धेरै अंक ल्याउनु थिएन। अब्बल हुनु थियो। उनको कानुन पढ्नुको एउटै उदेश्य थियो, ‘बुवाको मुद्दा जित्नु।’

उनकी बहिनीले एमएमा उत्कृष्ट नतिजा ल्याइन्। पुरस्कारका रुपमा ‘महेन्द्र विद्याभुषण’ पदक तत्कालीन राजा महेन्द्रको हातबाट दिने घोषणा गरियो। तर उनकी बहिनीले शिक्षामा बुवाको ठूलो योगदान रहेको र बुवाको अनुपस्थितिमा उक्त पदक लिन नसक्ने बताइन्। त्यसपछि राजा महेन्द्रले उनका बुवालाई जेल मुक्त गरिदिए।

शारदाको काठमाडौँका शंकरमान श्रेष्ठसँग प्रेम विवाह भयो। उनको प्रेमलाई विवाह सम्म पुर्याउन र सफल बनाउन पनि सहज थिएन । शारदाले बुवा जेलमा रहेका बेला थुप्रै खालका असुरक्षाको महसुस गर्नु पर्‍यो। ललितपुरबाट काठमाडौँको दरबार स्कुलमा रात्रीकालीन कक्षामा पुग्नु पर्थ्यो। शारदालाई बाटो सुरक्षित लाग्दैनथ्यो। तर, उनलाई भरथेग गर्ने, ढाडस दिने कोही थिएन। अनि शारदाले चिनजान रहेका काठमाडौँका शंकरमान श्रेष्ठसँग विवाह गरिन्।

शारदा महर्जनकी छोरी। शंकरमान श्रेष्ठ। उनीहरूको विवाह समाजमा स्वीकार्य भएन। त्यसपछि उनीहरू काठमाडौँमा डेरा गरेर बसे। त्यसको केही समयपछि शारदाकी सासूको अग्रसरतामा उनीहरूको विधिवत् विवाह भयो।

शंकरमान पाटन हाइस्कुल पढ्दा नै राजनीतिमा सरिक थिए। २००७ सालअघि पाटन हाइस्कुलमा पढ्न पनि राणाहरूबाट अनुमति लिनु पर्थ्यो। नेपालको तत्कालीन अवस्थाबाट देशलाई बाहिर निकाल्नुपर्छ भनेर राजनीतिमा लागेको शंकरमान शारदालाई सुनाउँथे। तुलसीराम अमात्यबाट प्रभावित भएर राजनीतिमा लागेका शंकरमान पछि लाल कम्युनिस्ट पार्टीमा संलग्न भए।

२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी शारदाले कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’बाट वकालत अभ्यास थालेकी थिइन्, जहाँ कृष्णप्रसाद पन्त, लवदेव भट्ट र कुसुम श्रेष्ठ पनि भेटिन्थे।

त्यसपछि केही समय उनले हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत, ललितपुर र हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत, भक्तपुरमा पनि काम गरिन्। उनी त्यहाँ काम सिक्न गएकी थिइन्। ती दुवै अदालतमा जनकमान श्रेष्ठ न्यायाधीश थिए।

एकदिन शारदा काम सकेर नेपाल ल फर्मबाट फर्किंदै थिइन्। उनको भेट तत्कालीन कानुन सचिव रामानन्दप्रसाद सिंहसँग भयो। सिंहले भूमिसुधार विशेष अदालतले न्यायाधीशका लागि विज्ञापन खुलेको सुनाउँदै आवदेन गर्न सुझाए। त्यसको भोलिपल्ट शारदाले आवेदन दिइन्। उनको नाम निस्कियो। त्यसपछि शारदा भूमिसुधार अदालत, कास्की र लमजुङका लागि नियुक्ति लिएर नेपालको पहिलो महिला न्यायाधीशको इतिहास लेख्न सफल भइन्।

‘त्यही समयबाट महिला पनि अदालतको न्यायाधीश बन्ने प्रचलन सुरु भएको हो। यसले मजस्ता कानुन पढेका महिलाका लागि माथि जान सक्ने थप सम्भावनाको ढोका खोलिदियो,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन्।

त्यसपछि शारदाले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन्। जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन्।

उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। करिब ४ दशक न्याय सेवामा बिताइन्। २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन्। सेवानिवृत्त भएपछि पनि शारदा थुप्रै सामाजिक कार्यमा संलग्न भइन्। प्रोजेक्टहरूमा काम गरिन्।

श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ