वीरगन्ज । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन्।
बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १५६ जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
भुवनेश्वरबाट रेल र सडकमार्ग हुँदै रक्सौल आइपुगेका उनीहरू वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गरेको मिश्रले बताए। वीरगन्जको इनर्वा नाका हुँदै १५३ जना र अलौं नाका हुँदै ३ जना गरेर हालसम्म १५६ जना नेपाली विद्यार्थी नेपाल आइपुगेको मिश्रले बताए। तीमध्ये छात्रा २७ जना र छात्र १२९ जना रहेका छन्। वीरगन्ज नाका हुँदै नेपाल आइपुगेका नेपाली विद्यार्थीहरू पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।