नवजन्म पुनःस्थापना केन्द्रमा रहेका युवकको सामूहिक कुटपिटबाट मृत्यु

नवजन्म पुनःस्थापना केन्द्रमा रहेका युवकको सामूहिक कुटपिटबाट मृत्यु

  • शनिबार, फाल्गुन ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

फाल्गुन ३, बारा । बाराको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा भर्ना भएका धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको कुटपिटबाट मृत्यु भएको छ ।

दुई सातादेखि उक्त पुनःस्थापना केन्द्रमा भर्ना भएका मण्डलले अनुशासन भंग गरेको भन्दै केन्द्रका परामर्शदातासहितको सामूहिक कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया–९ का ३७ वर्षीय मण्डललाई बिहीबार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।

‘मुक्काले अनुहारमा कुटपिट गरिएको संकलित प्रमाणले प्रस्ट भएको भन्दै एसपी तामाङले शारीरिक यातना दिन मुर्गा बनाउन खोज्दा नमानेपछि मध्यरातमा कोठाभित्र कुटपिट गरिएको देखिएको बताए । मण्डललाई दुई साताअघि परिवारले नै पुनःस्थापना केन्द्रमा राखेका थिए ।

कुटपिटपश्चात् अचेत बनेका मण्डललाई केन्द्रका परामर्शदाताले उपचारका लागि सुरुमा कलैया सिटी अस्पताल लगेका थिए । त्यहाँबाट रिफर गरेपछि कलैया प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका हुन् । भाडाको घरमा संचालित पुनःस्थापना केन्द्रमा सञ्चालकको तर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए ।

लागूऔषध कुलतमा फसेकाहरूको सुधारका लागि सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको सञ्चालकका भाइ तमन्ना मन्सुरले प्रहरीलाई बयान दिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरीका इन्स्पेक्टर राजेश खत्रीले बताए ।

‘पक्राउ परेका सात जनामाथि कर्तव्यज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखेका उनले बताए । घटना संवेदनशील भएकाले सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको पनि उनको भनाई छ ।

कुटपिट गरिरहेको सीसी टीभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर सामूहिक कुटपिट गरिएको दृश्य देखिन्छ । मृतकको शवलाई कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ ।

पुनःस्थापना केन्द्रका संचालक कलैया–३ का साहेबबाबु मन्सुर सम्पर्कविहीन छन् । पुनःस्थापना केन्द्रको रेखदेख उनका भाइ २९ वर्षीय तमन्ना मन्सुरले गर्दै आएका थिए ।

तमन्ना नेविसंघ बारा क्षेत्र नम्बर ३ का सभापति पनि हुन् । कुटपिट आरोपमा तमन्नासहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा वडा–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा–२ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा–४ का २२ वर्षीय निरज सर्राफ र वडा–६ का २० वर्षीय महम्मद आँसु मियाँ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ