पोखरा, ३ फागुन । बेलुन पडकिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते भएका हुन ।
इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन फड्किएर आगो लाग्दा दुवैजनाको अनुहार सामान्य जलेको छ। अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी जलेको प्रत्यक्षदर्शीले बताए। उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।
उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनको झुप्पो एकैपटक आगोले पड्किएको प्रत्यक्षदशी बताउछन् । सो क्रममा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य बेलुन नजिकै पुगेका थिए।
सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो । पोखरा-९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजित समारोहका सहभागी समेत यो घटनाले चिन्तित छन्। कार्यक्रम केही समय स्थगितपछि सुरु गरिएको छ।
पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।