नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाडौंमा आज ३०औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका पदाधिकारी, पूर्व पदाधिकारी कार्यकर्ताहरू र अन्य विद्यार्थीले समेत क्याम्पसको प्राङ्गणमा दीप प्रज्वलन गर्दै जनयुद्धका शहीदहरूको सम्झना गरेका हुन्।
अखिल क्रान्तिकारीका वर्तमान अध्यक्ष भीमप्रसाद जैसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारी नेपाल कमर्स क्याम्पस समितिका पूर्व अध्यक्ष तुलसीराम न्यौपाने रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि न्यौपानेले गर्नुभएको थियो । उहाँले दीप प्रज्वलन गर्दै जनयुद्धको ऐतिहासिक संघर्ष र शहीदहरूको योगदानलाई सम्मान गर्दै त्यसको महत्वको बारेमा विद्यार्थीहरूलाई अवगत गराउनुभएको थियो।
त्यस्तै कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका अखिल क्रान्तिकारी क्याम्पस समिति अध्यक्ष भीमप्रसाद जैसीले जनयुद्धका शहीदहरूको योगदान र संघर्षलाई सम्झाउँदै त्यसको महत्वलाई उजागर गर्नुभएको थियो । “जनयुद्धले नेपाली समाजमा परिवर्तन ल्याउने दिशा तयार गरेको हो। आजको यस कार्यक्रमबाट हामी त्यसको सम्झना गर्दै भविष्यमा समानता र समृद्धिका लागि संघर्ष जारी राख्ने संकल्प गर्छौं,” उहाँले भन्नुभयो।
नेपाल कमर्स क्याम्पसमा आयोजित दीप प्रज्वलन कार्यक्रमले जनयुद्ध दिवसको महत्वलाई उजागर गर्दै शहीदहरूको योगदानलाई सम्झाउने उद्देश्य राखेको थियो। ३०औं जनयुद्ध दिवसको अवसरमा क्याम्पसका विद्यार्थी, अखिल क्रान्तिकारीका पदाधिकारीहरूले पनि जनयुद्धका घटनाहरू र त्यसका प्रभावबारे पनि चर्को आवाजमा विचार व्यक्त गरेका थिए।