नुवाकोट, माघ ३०। नुवाकोटका चार वटा पालिकाले ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । चार वटै पालिकाले सार्वजनिक सूचना जारी गरी जनयुद्ध दिवशको दिन आ आफ्नो पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गरेको जनाएका छन् ।
तत्कालीन नेकपा माओवादीले फागुन १ गते सुरु गरेको जनयुद्धको स्मरणमा विभिन्न कार्यक्रम गरी यो दिवश मनाइने गरिन्छ । जनयुद्धकै बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधानसभाबाट संविधान निर्माण, समावेशी, समानुपातिक व्यवस्थालगायत उपलब्धि हासिल गरेको भन्दै ती पालिकाहरुले सार्वजनिक बिदा गर्ने निर्णय गरेकोको सूचनामा उल्लेख गरेका छन् ।
यसअघि माओवादी घटकले मात्रै जनयुद्ध दिवश मनाउने गरिए पनि पछिल्ला वर्षहरुमा सरकारी तवरबाट समेत जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने लगायत कार्यक्रम हुन थालेका छन्।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७९ सालमा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय नै गरेको थियो । उक्त वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइयो, तर अर्को वर्षबाट भने यसले निरन्तरता पाएन ।
मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अदालतमा रिट परेको थियो । उक्त रिटमा फैसला सुनाउँदै गत वर्ष पुस १३ गते सर्वोच्च अदालतले सार्वजनिक बिदा खारेज गरिदियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गर्दै बिदा खारेज गरिदिएपछि गत वर्ष सार्वजनिक बिदा कार्यान्वयन भएन ।
यस वर्ष पनि संघीय सरकारले सार्वजनिक बिदा दिएको छैन, तर देशभरका केहि स्थानीय तहले भने आफूहरुले स्वायत्त निर्णयको अधिकार प्रयोग गर्दै सार्वजनिक बिदा दिएका हुन् । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले फागुन १ गते देखि सन्चालित महान जनयुद्धको जगमा र २०६२ /०६३ को १९ दिने संयुक्त जनआन्दोलनको बलमा प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षा र विकासका लागी महान जनयुद्धमा सहभागी भएर प्राणको आहुती दिने शहिदहरु तथा वेपत्ता, घाईते योद्धाहरु र उनीहरुका परिवारले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आ आफ्नो तर्फबाट फागुन १ गते जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउन अपिल पनि गर्नुभएको छ ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र प्रमुख प्रशासकीय खम्बराज राईको यहि २८ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार राजनीतिक तथा सामाजिक परिवर्तनमा सशस्त्र जनयुद्धले पुर्याएको योगदानको कारण नै देश संघियतामा रुपान्तरण भई स्थानीय तहको गठन भएकाले सो को कदर तथा जनयुद्धप्रति उच्च सम्मान गर्दै बिदा दिईएको सूचनामार्फत सबैलाई जानकारी दिएका छन् ।
उता, रोल्पाका स्थानीय तहहरूले पनि ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गतेका लागि सार्वजनिक बिदा घोषणा गरेका छन् । दश स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले जितेको सात स्थानीय तहमा फागुन १ गते बिदा घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको राजपत्रअनुसार स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी एक दिन सार्वजनिक बिदा दिन मिल्ने प्रावधानअनुसार बिदा दिइएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले बताउनु भयो ।
रोल्पा नगरपालिकाले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जनयुद्ध व्यवस्था परिवर्तनका लागि महान् दिन भएको बताउँदै बिदा दिइएको जानकारी दिनुभएको छ । ‘हामीले संविधान र प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर बिदा दिएका छौँ,’ नगरप्रमुख घर्तीले भन्नुभयो, ‘जनयुद्ध सुरु गरेको दिनलाई सबै नेपालीले उत्सवको रूपमा मनाउनुपर्दछ ।’
जनयुद्धकै कारण मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा गएको भन्दै माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले यसलाई कसले मनाउने वा नमनाउनेभन्दा पनि राष्ट्रिय पर्वको रूपमा सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । ‘जनयुद्ध दिवस’को अवसर पारेर रोल्पा नगरपालिकासहित, माडी, सुनछहरी, थबाङ, सुनिल स्मृति र लुङ्ग्री गाउँपालिकाले बिदा घोषणा गरेका छन् । बिदा घोषणा गरेका गाउँपालिकाले ऐतिहासिक दिनको रूपमा आ–आफ्नै कार्यालयमा मनाउने गरी अपिल गरेका छन् । माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले जारी गरेको सूचनामा जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिहरुको खोज अनुसन्धान गर्न मागसमेत गरिएको छ ।
सार्वजनिक बिदा आह्वान गरेका स्थानीय तहका प्रमुखहरूले राष्ट्रिय पर्वको रूपमा रहेको ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिन पाउने कार्यपालिकाको अधिकारलाई न्यायपालिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । रोल्पा माओवादी जनयुद्धको उद्गमस्थल पनि हो ।
यता सुनछहरी गाउँपालिकाले फागुन १ र २ गते बिदा दिएको छ । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको स्मृति दिवसको सन्दर्भ पारेर सार्वजनिक बिदा घोषणा गरेको छ । गाउँ सभामा पारित भएअनुसार हरेक वर्षको दुई दिन सार्वजनिक बिदा दिइँदै आएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताए ।
यस्तै बाग्लुङको ताराखोला गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गाउँपालिकाको गत सोमबार बसेको कार्यपालिका बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय लिएको छ । ताराखोलाले अघिल्ला वर्षहरुमा पनि बिदा दिँदै आएको थियो । कार्यपालिकाको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बिकले गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्थादेखि सबैतिर पत्राचार गर्नुभएको छ ।