३० माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ ।
बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर सडक सहित आसपासका सरकारीभवन जलमग्न बनेको छ । यो क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत्लाइन भूमिगतको काम गरिरहेको थियो । उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ ।
उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी केईआईले गरिरहेको छ ।
कम्पनीका सुपरभाइजर अविनाश बकुमारले आफूहरूकै गल्तीका कारण पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।
‘वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिवस मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के। ई.आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन् ।
जी.आई.एस. म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको आयोजनाले जनाएको छ ।
पाइप फुटेपछि बबरमहल क्षेत्रको सडक भासिएको छ । पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको हो ।
सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ । एक्कासी बाढी पसेपछि बबरमहल क्षेत्रमा रहेका सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्तीसमेत डुबानमा परेका छन् ।
यसैबीच, खानेपानी मन्त्री प्रदीप यादव घटनास्थल पुगेका छनु । काठमाडौं उपत्यका खानेपानी लिमिटेड का सीईओ अशोक पौडेललाई लिएर मन्त्री यादव बबरमहल पुगेका उनले भने, ‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम गर्यो । त्यसकै कारणले यस्तो घटना घटेको हो, लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’
उनले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए । ‘सबै पाइपको पानी सकिएपछिमात्रै पानी रोकिन्छ,’ उनले भने ।