दुई सय बढी बालबालिका विद्यालय जान छाडे

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

  • शनिबार, माघ ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

जलेश्वर, ५ माघ : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् ।

स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताउनुभयो ।

खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।

चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।

नबस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ । उनीहरूलाई परिवार पाल्न निक्कै कठिनाइ भएको छ । त्यसमाथि बालबालिकाको पठनपाठन झन बोझझैँ भएको छ ।

स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्‍याउन सबैलाई हम्मेहम्मे भएको बताउनुभयो । बालबालिकाहरूलाई कठ्याङ्ग्रिँदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उहाँले सुनाउनुभयो ।

यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताउनुभयो । उहाँले यस्तो अभावको बेला आफूहरूलाई कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन बढी समस्या भएको दुखेसो पोख्नुभयो ।

बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईनलाई मुसहरी बस्तीको बासिन्दाको पीडाबारे सोध्दा उहाँले आफू पनि मुसहरको पीडासँग पीडित रहेको बताउनुभयो । तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनले बताउनुभयो ।

वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताउनुभयो ।

मुसहर बस्तीका दुई सय बढी बालबालिका विद्यालय नगइरहेको सबालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताउनुभयो । तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबर्जस्ती गर्न नसकिने बताउनुभयो ।

पुस र माघ महिनाको चिसो स्याँठले निम्त्याएको कठ्याङ्गिँ्रदो जाडोबाट बच्न गत साता यस बस्तीमा नेपाली सेनाले प्रतिपरिवार एक एक थान कम्बल बाँडेको सुनाउँदै बस्तीकी ७२ वर्षीया कोशिलादेवी सदाले यो सहयोग अपुग र अपर्याप्त रहेको बताउनुभयो । उहाँले दाताले प्रतिपरिवार नभएर आवश्यक भएका सबैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले एउटा कम्बल बूढापाखा राख्ने कि महिलाले ओढ्ने कि बालबालिकालाई दिने भनी प्रतिप्रश्न गर्नुभयो ।

यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।

यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ । यस बस्तीका मुसहरहरू देशमा तीन तहको सरकार आएको र सङ्घीयताले देश विकासको दिशा लिइरहेको बेला आफूहरूले सङ्घीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी