पुस २३, काठमाडौँ । मंगलवार बिहान गएको शक्तिशाली भुकम्पका कारण बाराको एक क्याम्पसका बिद्यार्थी त्रसित बनेर बेहोस भएका छन् । आज बिहान आएको भुकम्पले बाराको श्री ३ चन्द्र उच्च माविका केही विधार्थीहरु बेहोस् भएका पत्रकार दिपक चौरसियाले जानकारी दिएका छन् । उनका अनुसार बिद्यार्थी र केहि स्थानीय पनि भुकम्पको त्रासले बेहोस भए पाछि उनिहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भैरहेको छ ।
उता, भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । उनले भने, ‘चौकीको भवनमा सामान्य क्षति भएको छ ।’
नेपाल प्रहरीले मंगलबार बिहान गएको भूकम्पबाट पुगेको क्षतिबारे विवरण संकलन गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार देशभर प्रहरी परिचालन गरेर घटनाको जानकारी सङ्कलन गर्ने काम भइरहेको छ ।
उनले भने, ुअहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जानकारी तथा सूचना सङ्कलनको काम जारी छ।
भूकम्पको झट्कापछि नागरिकमा केहीबेर त्रास फैलिएको भए पनि अहिलेसम्म देशभरबाट कुनै ठूलो क्षतिको रिपोर्ट प्राप्त नभएको प्रहरीले जनाएको छ । उनका अनुसार देशका कुनै ठाउँबाट मानवीय वा भौतिक क्षति भएको विवरण नआएको बताएको छ ।
ुभूकम्पबाट के कस्तो असर परेको छ यसबारे प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमार्फत देशभरका प्रहरी संयन्त्रलाई बिहानबाटै तैनाथ गरिएको प्रवक्ता अधिकारी बताए ।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ६ ५० मिनेटमा नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।
भूकम्पको केन्द्रविन्दु नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् ।
ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए(नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।